प्रतिबन्ध लगाए यूरोपतर्फको ग्यास आपूर्ति बन्द गर्ने बेलारुसको चेतावनी
२६ कात्तिक २०७८ बेलारुस । बेलारुसले आप्रवासी संकटलाई लिएर आफ्नो मुलुक माथि प्रतिबन्ध लगाइए यूरोपतर्फको ग्यास आपूर्ति बन्द गर्ने चेतावनी दिएको छ ।
पश्चिमी सीमामा पोल्याण्ड हुँदै यूरोप जाने आप्रवासीको संख्या बढेर समस्या चर्किँदै गएपछि बेलारुसले यस्तो चेतावनी दिएको हो । ईयूले बेलारुसमाथि नयाँ प्रतिबन्धको प्याकेजको तयारी गरिरहेको जनाइएको छ ।
बेलारुसका राष्ट्रपति अलेक्जेण्डर लुकाशेन्कोले यूरोपको चेतावनीलाई उचित जवाफ दिइने बताएका छन् । योसंगै यूरोपमा प्राकृतिक ग्यासको अभाव र मूल्य वृद्धि हुने त्रास बढेको छ ।
बेलारुस हुंदै रुसबाट यूरोपमा ग्यास आपूर्ति हुंदै आएको छ । कठ्यांग्रिदो मौसममा सयौं आप्रवासी पोल्याण्डको सीमामा बसिराखेका छन् ।
तिनीहरूमध्ये अधिकांश मध्यपूर्व र एशियाका रहेको जनाइएको छ । पोल्याण्ड, लिथुवानिया र लात्भियाले हालैका महिनाहरूमा बेलारुसबाट अवैध रूपमा आफ्नो देशमा प्रवेश गर्न खोज्नेहरूको संख्यामा वृद्धि भएको बताएका छन् ।
पोल्याण्डले आप्रवासी संकटमा रुसको संलग्नता रहेको आरोप लगाएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका निकट साझेदार बेलारुसका राष्ट्रपति लुकाशेन्काले आप्रवासी संकट सिर्जना गराएको तर त्यसको मुख्य योजनाकार मस्कोमा रहेको आरोप लगाएको छ ।
ब्रशेल्स र वार्साले युरोपेली संघले बेलारुसमाथि प्रतिबन्ध लगाएपछि गैरकानूनी आप्रवासीलाई हतियारका रूपमा प्रयोग गरेको आरोप समेत लगाएको छ । तर बेलारुसले आरोप अस्वीकार गरेको छ
प्रतिक्रिया