विदेश

श्रीलंकामा जारी खाद्य संकट समाधानका लागि संकटकाल घोषणा

हिमालय टिभी
२०७८ भदौ २२ गते १४:२१
श्रीलंकामा जारी खाद्य संकट समाधानका लागि  संकटकाल घोषणा

२२ भदौ २०७८ कोलम्बो । चरम मूल्यवृद्धि नियन्त्रण तथा खाद्य संकट समाधानका लागि भन्दै श्रीलंकामा खाद्य संकटकाल घोषणा गरिएको छ ।

राष्ट्रपति गोटाबाय राजापाक्षेले ल्याएको संकटकालको प्रस्ताव त्यहाँको संसदले पारित गरेको हो । राष्ट्रपति राजापाक्षेले संकटकाल लगाउने प्रस्ताव गत अगष्ट ३० मै गर्नुभएको थियो ।

यो निर्णय १४ दिनभित्र संसदबाट पारित हुनुपर्ने व्यवस्था अनुसार मतदान भएको हो । प्रस्तावको पक्षमा १ सय ३२ र विपक्षमा ५१ सांसदले मत दिएका थिए ।

विपक्षी सांसदहरुले भने आपतकाल लगाउनु आवश्यक नरहेको बताउँदै आएका छन् । अत्यावश्यकीय सामग्री आपूर्तिका लागि अरु कानून प्रयोग गर्न सकिने भन्दै विपक्षीले आलोचकहरुलाई दबाउन सरकारले संकटकालको दुरूपयोग गर्ने आशंका व्यक्त गरेको छ ।

आकस्मिक कानूनमा टेकेर प्रहरी प्रशासनले पक्राउ पूर्जीविनै मानिसलाई नियन्त्रणमा लिनसक्ने, सम्पत्ति जफत गर्ने, कुनै पनि क्षेत्रमा छापा मार्नसक्ने तथा कानून र आदेशहरु निलम्बन गर्नसक्ने व्यवस्था छ ।

संकटकाल लागू भएको समयमा सरकारले चाल्ने कदमका विरुद्धमा अदालतमा समेत प्रश्न उठाउन पाइने छैन ।

पर्यटन व्यसायमा छाएको मन्दी, निर्यातमा उल्लेख्य गिरावट र भारी ऋणका कारण श्रीलंकाले पछिल्लो समय चरम आर्थिक संकट खेपिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *