यमनको महत्वपूर्ण शहर मारिब कब्जामा लिएको हुथी विद्रोहीको दाबी
१७ भदौ २०७८ यमन । यमनमा हुथी विद्रोही समूहले देशको महत्वपूर्ण शहर मारिबलाई कब्जामा लिएको दाबी गरेको छ ।
सरकारी सैन्य अधिकारीले समेत आफू नियन्त्रित मारिब शहर हुथी विद्रोही समूहले नियन्त्रणमा लिएको बताए । मारिबलाई हुथीले पहिलेदेखि नै दबाबमा राखेका थिए भने यसलाई रणनीतिक हिसाबले महत्वपूर्ण क्षेत्र मानिन्छ।
विद्रोहीले मालबोडा पहाडी क्षेत्र नै कब्जा गरेका छन् । देशको उत्तरपश्चिमी क्षेत्रमा पर्ने सिर्वाहमा झण्डै ४८ घण्टासम्म भएको दोहोरो भिडन्तपछि उनीहरूले त्यसमाथि कब्जा जमाएको एक सैन्य अधिकारीले बताए ।
इरान समर्थित हुथी समूहले तेल खानी रहेका क्षेत्र भएकाले समेत मारिब क्षेत्रलाई नियन्त्रणमा लिने प्रयास लामो समयदेखि गर्दै आएका थिए । यमनको सरकारी सेनालाई भने साउदी अरबको समर्थन र सहयोग रहँदै आएको छ।
२ हजार १४ देखि जारी गृहयुद्धका कारण त्यहाँ १० हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने लाखौं मानिस विस्थापित भएका छन् ।
उता संयुक्त राष्ट्रसंघले वार्तामार्फत युद्धविराम गराउने प्रयास गरेपनि सफल हुन सकेको छैन ।
प्रतिक्रिया