विदेश

तालिबान लडाकुले शिया हजारा समुदायका व्यक्तिको क्रुरतापूर्वक हत्या गरेको एम्नेष्टीको आरोप

हिमालय टिभी
२०७८ भदौ ४ गते १६:४९
तालिबान लडाकुले शिया हजारा समुदायका व्यक्तिको क्रुरतापूर्वक हत्या गरेको एम्नेष्टीको आरोप

४ भदौ २०७८ काबुल । अफगानिस्तानमा तालिबान लडाकुले शिया हजारा समुदायका नागरिकको क्रुरपूर्वक हत्या गरेको मानव अधिकारवादी संगठन एम्नेष्टी इन्टरनेशनले दाबी गरेको छ ।

तालिबानले हालैका दिनमा गजनी प्रान्तमा हजारा समुदायका मानिसको हत्या गरिरहेको एम्नेष्टीको दाबी छ । प्रत्यक्षदर्शीले जुलाईको शुरुवाती दिनमा भएको हत्या र यातनाबारे एम्नेष्टी इन्टरनेशनलाई बताएको बीबीसीले जनाएको छ ।

गजनी प्रान्तको मालिस्तानमा जुलाई ४ देखि ६ बीच हजारा समुदायका ९ जना पुरुषको बर्बर हत्या भएको एम्नेष्टीको प्रतिवेदनमा उल्लेख छ । एम्नेष्टीले उक्त घटनालाई तालिबान शासनको आतंकको सूचक भनेको छ ।

सरकारी सेनासंगको भीषण संघर्षका क्रममा तालिवान लडाकु पहाडी क्षेत्र मालिस्तानको मुन्दरख्त गाउँ पुगेपछि यो घटना भएको प्रतिवेदनमा उल्लेख छ । गाउँ पुगेपछि तालिबान लडाकुले लुटपाट मच्चाउंदै हत्या गरेका थिए ।

शिया इस्लाम मान्ने हजारा समुदाय अफगानिस्तानको तेस्रो ठूलो जातीय समूह हो । एम्नेष्टीले घटनाको जाँच गर्न र अफगान नागरिकको सुरक्षा सुनिश्चित गर्न संयुक्त राष्ट्रसंघ सँग माग गरेको छ ।

यसअघि संयुक्त राष्ट्रसंघले तालिबानले नेटो फौज र पूर्ववर्ती अफगान सरकारका लागि काम गरेका मानिसको खोजी कार्यलाई तीव्र बनाएको प्रतिवेदन सार्वजनिक गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *