विदेश

काबुल विमानस्थलमा थामिनसक्नु भीड, जहाजमा झुण्डिएका तीनजनाको खसेर मृत्यु (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन ३२ गते २०:३३
काबुल विमानस्थलमा थामिनसक्नु भीड, जहाजमा झुण्डिएका तीनजनाको खसेर मृत्यु (भिडियो रिपोर्टसहित)

३२ साउन २०७८ काठमाडौं । तालिवानले अफगानिस्तान कब्जा गरेको दोश्रो दिन आज काबुल अस्तव्यस्त देखियो । अफगानिस्तान छाड्न चाहने नागरिकका कारण हिजैदेखि विमानस्थल भरिएको थियो ।

व्यावसायिक उडान बन्द भएकाले अमेरिका लगायतका देशले आफ्ना नागरिकको उद्धारका लागि काबुलमा सैनिक उडान गरिरहेका छन् । तीनै विमान चढेर अफगानिस्तानबाट बाहिरिन खोज्ने अफगान नागरिक विमानस्थलमा भेला भएका थिए ।

विमानस्थलमा धामिनसक्नुको भीड भएपछि अमेरिकी सेनाले गोली नै चलाएको छ । त्यसक्रममा केहीको मृत्यु भएको छ । यस्तै विमानमा झुन्डिएका कम्तिमा पनि ३ जनाको खसेर मृत्यु भएको छ ।

यो अफगानिस्तानको काबुलमा रहेको अन्तर्राष्ट्रिय विमास्थलको दृश्य । अनि यो भीडमा रहेकाहरु अफगानिस्तान छाड्न चाहनेहरु ।

यो भीडमा अफगानिस्तानमा रहेका विदेशी नागरिक मात्र हैन । देश छाडेर जान चाहने अफगान नागरिक पनि छन् । उनीहरु जसरी पनि अफगानिस्तानबाट बाहिरिन चाहन्छन् । त्यसैले जहाजका पँखेटामा, छानामा समेत चढेका छन् । अमेरिकी सैनिक विमानमा उनीहरु यसरी झुन्डिएका छन् ।

विमानमा झुन्डिएर यात्रा गर्ने कम्तिमा पनि ३ जनाको यसरी खसेर मृत्युसमेत भएको छ । अफगानिस्तान कब्जा गरे लगत्तै तालिवान विद्रोहीले आफूहरुले हिंसा नचाहेको र सबै नागरिकले जिउ धनको सुरक्षा गर्ने बचन दिएका थिए ।

तर २० वर्षअघि तालिवानको आतंक भोगेका अफगान नागरिक तालिवानप्रति विश्वस्त हुन सकेका छैनन् । त्यसैले उनीहरु जतिसक्दो छिटो अफगानिस्तान छाड्न चाहन्छन् । अफगानिस्तानमै बस्दा बाँच्ने संभावना हुँदा हुँदै पनि यसरी विमानबाट खसेर ज्यान गुमाउन पुगेका छन् ।

हिजो बेलुकीदेखि काबुलमा व्यावसायिक उडान रोकियो । तर पनि अफगानिस्तानका विभिन्न ठाउँबाट पैदल नै हिँडेर पनि मान्छेहरु विमानस्थलमा पुगिरहेका छन् ।

विमान्सथलमा थामिनसक्नु भीड बढेपछि धावनमार्ग खाली गराउन अमेरिकी सेनाले गोलीसमेत चलाएको छ । र त्यो गोली लागेर कम्तिमा पनि ५ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

काबुलमा तालिबानलाई सत्ता हस्तान्तरणका लागि समन्वय परिषदले काम गरिरहेको छ, तालिवान नेता र लडाकुहरु राष्ट्रपति कार्यालयमा छन । तर उनीहरु त्यहाँको अस्तव्यस्त अवस्थालाई शान्त बनाउने र नागरिकलाई विश्वास दिलाउने कुरामा चुकिरहेको देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *