विदेश

तालिवानद्वारा अफगानिस्तानको राजधानी काबुलस्थित राष्ट्रपति भवन कब्जा

हिमालय टिभी
२०७८ साउन ३२ गते ७:१५
तालिवानद्वारा अफगानिस्तानको राजधानी काबुलस्थित राष्ट्रपति भवन कब्जा

३२ साउन २०७८ काबुल । विद्रोही तालिवानले अफगानिस्तानको राजधानी काबुलस्थित राष्ट्रपति कार्यालय कब्जा गरेको छ ।

राष्ट्रपति अशरफ घानी देश छोडेर गएपछि तालिवानले राष्ट्रपति कार्यालय प्रवेश गरेर आफ्नो विजयको घोषणा गरेको हो । राष्ट्रपति कार्यालयमा तालिवानले गरेको कब्जाबारे सरकारी अधिकारीबाट पुष्टि भएको छैन।

यसअघि राष्ट्रपति भवनमा घानीकै उपस्थितिमा सत्ता हस्तान्तरण समारोह हुने सम्झौता भएपनि उनी देश छाडेर ताजिकिस्तान गएका थिए । तालिवानका प्रवक्ता सुहैल शाहीनले शान्तिपूर्ण रुपमा शक्तिको हस्तान्तरण हुनुपर्ने बताएका छन् ।

उनले काबुलका नागरिक सुरक्षित रहेको दाबी पनि गरे । अफगानिस्तानको अधिकांश भाग नियन्त्रणमा लिएर काबुललाई घेरेको तालिवानले जनधनको क्षति नगर्न शान्तिपूर्ण शक्ति हस्तान्तरणको मनसायका साथ शहर प्रवेश नगरी काबुलको प्रवेशद्वारमा बसेको थियो ।

अब तालिवानले राष्ट्रपति कार्यालयबाटै अफगानिस्तानलाई इस्लामिक एमिरेट अफ अफगानिस्तान घोषणा गर्ने तालिवान प्रवक्तालाई उधृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

राष्ट्रपति कार्यालयमा तालिवानले स्लामिक स्टेट अफ अफगानिस्तानको नाममा झण्डा समेत गाडेका छन् । काबुल कब्जा गरेसँगै अब अफगानिस्तान तालिवानको नियन्त्रणमा गएको छ ।

शान्तिपूर्ण रुपमा सत्ता ग्रहण गर्ने जनाउँदै तालिवानले अब कुनै रक्तपात नहुने जनाएको छ । तालिवानले सत्ता कब्जा गरेसँगै काबुल विमानस्थलमा भिडभाड अत्यधिक मात्रामा देखिएको छ । विदेशी, अफगान अधिकारी र अन्य नागरिकले देश छोड्ने चाहनामा त्यहाँ पुगेका देखिएका छन् ।

सबै व्यवसायिक उडानहरु रद्द गरिएका छन् । अमेरिका, क्यानाडा, बेलायत, जर्मनीसहितले आफ्ना नागरिकको उद्धारका लागि सैनिक विमानको प्रयोग गरेका छन् । तर आफूहरुको सैन्य अभियानको क्रममा सहयोग गरेका अफगानहरुको उद्धार भने नभएको बताइएको छ ।

तालिबानको कब्जामा देश गएसँगै महिलाको अवस्थालाई लिएर चासो र चिन्ता व्यक्त भएको छ । केही क्षेत्रमा तालिबानले महिलाहरुलाई बुर्खा लगाउन बाध्य पारेको खबर आइरहेका छन् ।

अमेरिकी र नेटो सेना फिर्ता हुने घोषणासँगै तालिबानले १० दिनको अन्तरालमै देशका सबै प्रमुख शहरमा कब्जा जमाएका हुन् । अमेरिकी गुप्तचर निकायले पनि काबुलमा नियन्त्रण कायम गर्ने प्रयासका लागि तालिबानलाई कम्तीमा तीन महिना लाग्ने बताएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *