विदेश

अफगानिस्तानको एउटा प्रमुख शहर लश्कर गाह तालिबान र सरकारी सेनाबीच भीषण संघर्ष

हिमालय टिभी
२०७८ साउन १९ गते ८:०३
अफगानिस्तानको एउटा प्रमुख शहर लश्कर गाह तालिबान र सरकारी सेनाबीच भीषण संघर्ष

१९ साउन २०७८ काबुल । अफगानिस्तानको एक प्रमुख शहर लश्कर गाह कब्जाका लागि तालिबान विद्रोही र सरकारबीच भीषण लडाइँ भइरहेको छ ।

सुरक्षाकर्मीको लगातार हवाई आक्रमणकाबीच दक्षिण क्षेत्रको हेलमण्ड राज्यको लश्कर गाह नियन्त्रणका लागि विद्रोही समूहको प्रयास जारी छ । अहिलेसम्म तालिबानले कुनै पनि राज्यको राजधानीमा कब्जा जमाउन सकेको छैन ।

तालिबानले अहिले लश्कर गाहसहित तीन राज्यको राजधानीलाई निशाना बनाइरहेका छन् । लश्कर गाह कब्जा गरे त्यो विद्रोही नियन्त्रित हुने पहिलो प्रान्तीय राजधानी हुनेछ ।

यसघि केही दिन अघि गर्भनर कार्यालय नजिक पुगिसकेका विद्रोहीलाई सेनाले पछाडि फर्कन बाध्य बनाएको थियो । अधिकांश अमेरिकी सैनिक फिर्ता भइसके पनि अमेरिकाले अफगान सैनिकको सहयोगमा त्यहाँ हवाई आक्रमण गरिरहेको छ ।

हिजो रातभर त्यहाँ हवाई आक्रमण भएको जनाइएको छ । अमेरिकी र बेलायती सैन्य अभियानको क्रममा हेलमण्ड केन्द्रका रुपमा रहेको थियो । हेल्मण्डमा तालिबानले पकड बनाए सरकारका लागि गम्भीर धक्का हुनेछ ।

​तालिवानले त्यहाँको एक टेलिभिजन कार्यालयमा कब्जा गरिसकेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । ग्रामीण क्षेत्रहरुबाट हजारौं मानिस विस्थापित भैसकेका छन् भने विद्रोहीविरुद्ध हजारौंको सुरक्षाकर्मी परिचालित छन् ।

उता दोस्रो ठूलो शहर कान्धाहार कब्जा गर्ने पनि विद्रोहीको प्रयास जारी छ । विद्रोहीले हेरातमा नियन्त्रणको प्रयास पनि जारी राखेका छन् । हेरातमा संयुक्त राष्ट्रसंघको कार्यालय परिसरमा पनि आक्रमणमा भएको जनाइएको छ ।

आगामी सेप्टेम्बर महिनासम्म अफगानिस्तानबाट सबै विदेशी सेना बाहिरिने घोषणासँगै तालिवाले ग्रामीण क्षेत्रबाट शहरी क्षेत्रमा आफ्नो पकड बनाउने रणनीति बनाएको छ ।

उता देशबाट अमेरिकी सेना फिर्ता हुन थालेसँगै हिंसाका घटना बढ्दै गएपछि सुरक्षा अवस्था सुधार गर्न सरकारले ६ महिने सुरक्षा योजनाको शुरुवात गर्ने घोषणा गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *