तेल ट्याङ्कर आक्रमणको घटनामा इरान संलग्न रहेको बेलायत र अमेरिकाको आरोप
१८ साउन २०७८ काठमाडौं । अरब सागरस्थित तेल ट्यांकर आक्रमण घटनामा इरान नै संलग्न रहेको बेलायत र अमेरिकाले बताएका छन् ।
दुई जनाको मृत्यु भएको ट्यांकर आक्रमणमा इरानको संलग्नता रहेको अमेरिका र बेलायतले आरोप लगाएका हुन् । इजरायलका प्रधानमन्त्री नाफ्ताली बेनेटले इरानको संलग्नताको प्रमाण रहेको बताएपछि अमेरिका र बेलायतको पनि टिप्पणी आएको हो ।
इरानले ड्रोनको प्रयोग गरि ट्यांकरमाथि आक्रमण गरेको हुन सक्ने बेलायती विदेश मन्त्री डोमिनिक राबले उल्लेख गरेका छन् । इरानले अन्तर्राष्ट्रिय कानूनको स्पष्ट उल्लंघन गरेको उनले जिकिर गरे ।
यस्तै अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिंकेनले पनि आक्रमणमा इरानको संलग्नताबारे अमेरिकालाई विश्वास रहेको बताए । घटनाको उपयुक्त जवाफ दिइने पनि उनले उल्लेख गरेका छन् । े
त्यसअघि इजरायली विदेश मन्त्री यायर लापिडले घटनामा इरानको हात परेको भन्दै उसलाई आतंकवादको आरोप लगाएका थिए । अरब सागरस्थित ओमान तटमा भएको घटनामा चालक दलका बेलायती र रोमानियाली नागरिक गरी दुई जनाको मृत्यु भएको थियो ।
लण्डनस्थित बेलायती कम्पनी जोडियाक मेरिटाइमद्वारा सञ्चालित एमभी मर्सेर स्ट्रीट अर्थात तेल बोक्ने पानी जहाजमा घटना भएको थियो ।
यसबारे इजरायली शिपिंग म्याग्नेट इयाल ओफरको स्वामित्वमा रहेको कम्पनीले पनि अनुसन्धान गरिरहेको छ । इरानले आफूमाथि लगाइएको आरोप आधारहिन रहेको बताउँदै आएको छ ।
प्रतिक्रिया