विश्वमा १३२ मुलुकमा फैलियो कोरोनाको डेल्टा भेरियन्ट
१५ साउन २०७८ काठमाडौं । विश्वका १३२ देशमा कोरोना भाइरसको डेल्टा भेरियन्ट फैलिएको छ ।
कोरोना संक्रमणको सबैभन्दा शक्तिशालि भेरियन्ट डेल्टा एक सय ३२ देशमा फैलिएको र महामारी अझै नियन्त्रण बाहिरै रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
त्यसैगरी अल्फा भेरियन्ट १८२ देशमा, बेटा भेरियन्ट १३१ देशमा र गाम्मा भेरियन्ट ८१ देशमा पुगेको पनि डब्लुएचओले जनाएको छ ।
सङ्क्रमितहरुको कुल सङ्ख्याका आधारमा अमेरिका सबैभन्दा अगाडि रहेको छ भने भारत, ब्राजिल, रुस, फ्रान्स, बेलायतलगायतका देशहरुले क्रमशः अमेरिकालाई पछ्याइरहेका छन् । कतिपय देशहरुमा कोरोनाभाइरसको चौथो चरणको महामारी समेत सुरु भएको डब्लुएचओले जनाएको छ ।
विश्वभरी कोरोनाभाइरसबाट सङ्क्रमितको साप्ताहिक सङ्ख्या बढ्दै गएकाले थप सतर्कता अपनाउन विश्व समुदायलाई डब्लुएचओले आग्रह गरेको छ । यही जुलाई १७ देखि २५ सम्मको सात दिनमा अघिल्लो हप्ताको तुलनामा ८ प्रतिशत संक्रमित बढेको डब्लुएचओले जनाएकव छ ।
संयुक्त राष्ट्रसंघको स्वास्थ्य सम्बन्धी निकायको रुपमा रहेको डब्लुएचओले कतिपय क्षेत्रमा ३० प्रतिशतसम्म सङ्क्रमितको सङ्ख्यामा बृद्धि भएको जनाएको छ । पछिल्लो हप्ता दैनिक विश्वभरी पाँच लाख ४० हजार सङ्क्रमित भएका छन् ।
त्यसअघि चार लाख ९० हजार औसतमा दैनिक सङ्क्रमित भएको डब्लएचओको भनाई छ । त्यसैगरी मृत्यु हुनेको सङ्ख्यामा पनि बृद्धि भएको डब्लुएचओका अधिकारीहरुले जनाएका छन् ।
प्रतिक्रिया