विदेश

चीनका राष्ट्रपति सी चिनफिङद्वारा स्वशासित क्षेत्र तिब्बतको भ्रमण

हिमालय टिभी
२०७८ साउन ८ गते १८:४५
चीनका राष्ट्रपति सी चिनफिङद्वारा स्वशासित क्षेत्र तिब्बतको भ्रमण

८ साउन २०७८ बेइजिङ । चीनका राष्ट्रपति सी चिनफिङले स्वशासित क्षेत्र तिब्बतको भ्रमण गरेका छन् ।

सन् २०१३ मा राष्ट्रपति भएपछि सी को यो पहिलो तिब्बत भ्रमण हो । यस्तै कुनै पनि चिनियाँ राष्ट्रपतिले ३० वर्षयता तिब्बत भ्रमण गरेको पनि यो पहिलो पटक भएको बीबीसीले जनाएको छ ।

उपराष्ट्रपतिका रुपमा सीले दश वर्ष अघि तिब्बतको भ्रमण गरेका थिए । सिन्ह्वाका अनुसार तिब्बत स्वशासित क्षेत्र भएको ७० वर्ष पुगेको अवसरमा राष्ट्रपति सीसहितको टोली भ्रमणमा आएको हो ।

राष्ट्रपति सीले हिजो र अस्ति तिब्बतको भ्रमण गरे पनि भ्रमणको संवेदनशीलताका कारण चिनियाँ सरकारी माध्यम सिन्ह्वाले आज मात्र यो समाचार सार्वजनिक गरेको छ । भ्रमणका क्रममा राष्ट्रपति सीले विभिन्न क्षेत्रको ग्रामिण विकासको अवलोकन गरेको सिन्ह्वाले जनाएको छ ।

विमानबाट निङ्ची शहरमा ओर्लिएका सी त्यहाँबाट रेल चढेर ल्हासा पुगेका थिए । ल्हासामा उनले निर्वासित तिब्बती धर्मगुरु दलाइ लामाको पराम्परागत निवास रहेको पोताला दवारको समेत भ्रमण गरेका छन् ।

दक्षिण एसियाली मुलुकहरुसँग सीमा जोडिएको तिब्बत चीनका लागि रणनीतिक रुपमा निकै महत्वपूर्ण मानिन्छ । चीनले आफ्नो शासन अन्तर्गत रहेर तिब्बतले चामत्कारिक विकास गरेको दाबी गरेको छ ।

तर अमेरिका लगायतका पश्चिमा मुलुकहरुले चीनले मानवअधिकारको उल्लंघन गर्दै तिब्बतको सांस्कृतिक र धार्मिक स्वतन्त्रतामाथि दमन गरेको आरोप लगाएका छन् । चीनले भने आरोप अस्वीकार गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *