बेलायतमा नोरो भाइरसको संक्रमण बढ्न थाल्यो
३ साउन २०७८ लण्डन । बेलायतमा नोरो भाइरसको संक्रमण बढ्न थालेको छ ।
पब्लिक हेल्थ इंगल्याण्डले गएको पाँच हप्ताको अवधिमा नोरो भाइरसका १ सय ५४ जना संक्रमित थपिएको जनाएको छ । यसको भाइरसले अचानक पेट दुख्ने, वान्ता आउने र बिरामी हुने समस्या निम्त्याउँछ ।
त्यस्तै यस भाइरसका संक्रमण धेरैजसो साना विद्यार्थीमा देखिएको छ। पछिल्लो पाँच वर्षमा बेलायतमा औसतमा वार्षिक ५३ संक्रमित देखिएका थिए ।
नोरो भाइरसको खतरा बढेको भन्दै चिकित्सकले यसबाट बच्ने उपाय सिकाउन थालेका छन् । यसबाट जोगिन साबुन पानीले हात लगातार धुनुपर्छ भने सरसफाइमा विशेष ध्यान दिनुपर्छ ।
त्यस्तै ६० डिग्री सेल्सियसको तापक्रमको पानीमा कपडा धोएमा पनि भाइरसबाट बच्न सकिने जनाइएको छ। उता बेलायतमा कोरोना भाइरस नियन्त्रण गर्न लागू भएका सबै प्रतिबन्धान्त्मक नियम भोलिदेखि हट्दैछन् ।
अब त्यहाँ मास्क लगाउनुपर्ने तथा व्यक्ति(व्यक्तिबीच कायम गरिनुपर्ने दूरीको नियम आवश्यक नहुने भएको छ ।
यसैबीच बेलायतका स्वास्थ्यमन्त्री साजिद जाविदलाई कोरोना संक्रमण भएको छ । स्वास्थ्यमन्त्रीमा संक्रमण देखिएसँगै त्यहाँको मन्त्रीमण्डलका अधिकांश सदस्य आइसोलेसनमा जान सक्ने बीबीसीले उल्लेख गरेको छ ।
प्रतिक्रिया