करिब १६ सय बढी अफगान सेना ताजकिस्तानतिर भागे
२२ असार २०७८ काबुल । अफगानिस्तानबाट करिब एक हजार ६ सय सरकारी सेना छिमेकी मुलुक ताजकिस्तान भागेका छन् ।
तालिवान लडाकुसँगको भीडन्तपछि उनीहरु भागेर ताजकिस्तान पुगेको सरकारी अधिकारीहरुले जनाएका छन । पछिल्लो तीन दिनमा मात्रै तीन पटक अफगानिस्तानी सेना भागेर ताजिकिस्तान पुगेका छन् ।
ताजकिस्तानको राष्टपति सुरक्षा कमिटीले जारी गरेको विज्ञप्तिमा ज्यान बचाउन भन्दै सेनाले सीमामा शरण मागेको जनाइएको छ ।
ताजकिस्तानसँगको सीमा जोडिएका अगानिस्तानका बादाख्शान र ताखर प्रान्तमा तालिवानले तीब्र रुपमा कब्जा जमाउँदै गएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
तालिवानको आक्रमण अघि नै बादाख्शानका सरकारी अधिकारी राजधानी काबुल भागेको स्थानीय स्रोतलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । तालिवानसँगको सम्झौता अनुसार करिब २ दशकपछि अमेरिका र नेटो गठबन्धन सेना फिर्ता भएयता अफगानिस्तानमा हिंसा बढ्दो छ ।
तालिवानले उत्तरी क्षेत्रका धेरै भू(भाग आफ्नो नियन्त्रणमा लिएको छ । विदेशी सेनाको फिर्तीसँगै अफगानिस्तान सेनाले मुलुक सुरक्षा कमाण्ड सम्हाल्नेमा आशंका व्यक्त गरिंदै आएको छ ।
तालिवानले आगामी सेप्टेम्बरपछि कुनै पनि विदेशी सेना अफगानिस्तानमा रहन नहुने भन्दै सैन्य रुपमा काबुल कब्जा गर्ने तालिवानको नीति नरहेको जनाएको छ ।
प्रतिक्रिया