विदेश

हत्या अभियोगमा एक पूर्व अमेरिकी प्रहरी अधिकारीलाई साढे २२ वर्ष जेल सजाय

हिमालय टिभी
२०७८ असार १२ गते ९:११
हत्या अभियोगमा एक पूर्व अमेरिकी प्रहरी अधिकारीलाई साढे २२ वर्ष जेल सजाय

१२ असार २०७८ न्युयोर्क । एक अमेरिकी पूर्व प्रहरी अधिकारीलाई हत्या अभियोगमा साढे २२ वर्षको जेल सजाय सुनाइएको छ ।

अश्वेत नागरिक जर्ज फ्लोइडको हत्या अभियोगमा दोषी ठहर भएका पूर्व प्रहरी अधिकारी डेरेक चोभनलाई २२ वर्ष ६ महिनाको सजाय तोकिएको हो ।

पदमा रहँदा तोडेको विश्वास र अधिकार तथा फ्लोइडप्रति प्रदर्शित निर्ममताका आधारमा उनलाई सजाय भएको न्यायाधीशले बताए ।

दुई हप्ताको सुनुवाईमा ४५ जना साक्षीको बयान एवम् पक्ष विपक्षका वकिलको बहस सुनेपछि जुरीले दुई महिना अघि नै निर्णय तयार पारेको थियो । जुरीले ४५ वर्षीय चोभनलाई सेकेण्ड डिग्री मर्डर र थर्ड डिग्री मर्डर एवम् मानवहत्या अभियोगमा दोषी ठहर गरेको थियो ।

त्यस्तै उनलाई हिंसात्मक अपराधिका रुपमा दर्ता गर्न र जीवनभर बन्दुक लिन नपाउने फैसला पनि अदालतले गरेको छ । फ्लोइडको परिवार र समर्थकले सजायको स्वागत गरेका छन् ।

गत वर्ष मिनेशोटा राज्यको मिनियापोलसमा प्रहरीले पक्राउ गर्ने क्रममा गरेको ज्यादतीका कारण ४८ वर्षे फ्लोइडको मृत्यु भएको थियो ।

पक्राउ गर्ने क्रममा तत्कालिन श्वेत प्रहरी अधिकारी चोभनले फ्लोइडको घाँटीमा ९ मिनेट भन्दा बढि समयसम्म थिचेको र फ्लोइडले सास फेर्न नसकेको भनेको भिडियो सार्वजनिक भएको थियो ।

त्यसपछि अमेरिकासहित विश्वभर रंगभेद र प्रहरी ज्यादतीविरुद्ध प्रदर्शन भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *