चिनियाँ खोप सिनोभ्याकले पायो प्रयोग अनुमति

१९ जेठ २०७८ काठमाडौं । कोरोना भाइरसविरुद्धको चिनियाँ खोप सिनोभ्याकले प्रयोगको अनुमति पाएको छ ।
सिनोभ्याकलाई विश्व स्वास्थ्य संगठनले आपतकालीन प्रयोगको अनुमति दिएको हो । आपतकालीन प्रयोग भन्नाले उत्पादन, सुरक्षा र प्रभावकारिताका हिसाबले अन्तर्राष्ट्रिय मापदण्ड पूरा भएको भन्ने रहेको डब्ल्यूएचओले जनाएको छ ।
सिनोभ्याक १८ वर्षभन्दा माथि उमेर समूहका लागि लगाउन सकिन्छ भने दुई देखि चार हप्ताको बीचमा दोश्रो मात्रा लिनुपर्छ । अनुमतिसँगै यसको कोभ्याक्स सुविधा अन्तर्गत प्रयोग गर्ने बाटो खुलेको र यसले खोपको पहुँच विस्तारमा सहयोग पुग्ने डब्ल्यूएचओले उल्लेख गरेको छ ।
यो खोपले लक्षणसहितको संक्रमणलाई आधा भन्दा बढी र अस्पताल भर्ना हुने दरलाई शतप्रतिशत रोक्ने अध्ययनले देखाएको छ । दुईदेखि आठ डिग्री सेल्सियस तापक्रममा भण्डारण गर्न सकिने सिनोभ्याक विकासोन्मुख देशहरुको लागि उपयोगी हुने देखिन्छ ।
सिनोभ्याक अहिले चीन, ब्राजिल, चिली, इण्डोनेशिया, मेक्सिको लगायतका देशमा प्रयोग भइरहेको छ । यसअघि चीनमै विकसित सिनोफार्म खोपले डब्ल्यूएचओबाट आपतकालीन प्रयोगको अनुमति पाइसकेको छ ।
प्रतिक्रिया