विदेश

छिमेकी मुलुक भारतले विकास गर्‍यो कोरोनाविरुद्ध खाने औषधि

हिमालय टिभी
२०७८ जेठ ३ गते १४:०८
छिमेकी मुलुक भारतले विकास गर्‍यो कोरोनाविरुद्ध खाने औषधि

३ जेठ २०७८ नयाँ दिल्ली । छिमेकी देश भारतले कोरोना भाइरस संक्रमणविरुद्ध खाने औषधिको विकास गरेको छ ।

आज एक समारोहकाबीच रक्षा मन्त्री राजनाथ सिंह र स्वास्थ्य मन्त्री डाक्टर हर्षवर्धनले टु–डिजी नामको खाने औषधिको औपचारिक शुरुवात गरेका छन् ।

यससँगै उक्त औषधि केही दिनमै त्यहाँका अस्पतालहरुमा उपलब्ध हुने भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । औषधिको विकास भारतीय रक्षा अनुसन्धान एवं विकास संगठन (डीआरडीओ) ले गरेको हो ।

उक्त औषधिलाई केही दिन अघि मात्रै भारतको औषधि महानियन्त्रकले आपत्कालिन प्रयोगको निम्ति अनुमति दिएको थियो । औषधिको प्रयोगले कोरोना संक्रमितलाई अक्सिजनमाथिको निर्भरता कम गर्ने र संक्रमित चाँडै निको हुने चिकित्सको भनाइ छ ।

हैदराबादस्थित डा. रेड्डिज प्रयोगशालामा पहिलो चरणमा १० हजार डोज तयार भएको बताइएको छ । गत वर्ष मे देखि अक्टोबर महिनाकोबीचमा सम्पन्न दोस्रो चरणको क्लिनिकल ट्रायलमा औषधि संक्रमितका लागि सुरक्षित रहेको र निको हुने दरमा पनि महत्वपूर्ण सुधार भएको पाइएको थियो ।

दोस्रो चरणको परीक्षण एघार वटा अस्पतालमा भएको थियो । यसमा १ सय १० जना संक्रमित संलग्न गराइएका थिए । त्यसपछि तेस्रो चरणमा दिल्ली, उत्तर प्रदेश, बंगाल, गुजरात, राजस्थान, महाराष्ट्रसहित अन्य राज्यका २७ अस्पतालका २ सय २० संक्रमितलाई समावेश गराइएको थियो ।

विश्वमा अहिलेसम्म कोरोनाको खोपको मात्रै विकास भएको छ । पछिल्लो समय कोरोना संक्रमणबाट भारत सबैभन्दा बढी प्रभावित देश हो । तर त्यहाँ केही दिन यता दैनिक संक्रमित हुनेको संख्या घटिरहेको छ । केही दिनअघिसम्म एकै दिन चार लाखको हाराहारीमा संक्रमित पुष्टि हुने गरेको थियो ।

त्यस्तै संक्रमणमुक्त हुने पनि बढिरहेका छन् । भारतमा संक्रमितको संख्या २ करोड ५० लाख नजिक पुग्दा संक्रमणमुक्त हुनेको संख्या २ करोड ११ लाख भन्दा बढी पुगेका छन् ।

त्यस्तै संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २ लाख ७४ हजार भन्दा बढी रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *