भारतमा कोरोना सङ्क्रमणको स्थिति चिन्ताजनक रहेको डब्लूएचओको निष्कर्ष
१ जेठ २०७८ काठमाडौं । विश्व स्वास्थ्य संगठनका प्रमुख डा. टेड्रोस एड्हनोम घेब्रियसुसले भारतमा कोरोना सङ्क्रमणको स्थिति निकै चिन्ताजनक रहेको बताउनुभएको छ ।
हिजो संगठनको नियमित कोरोनासम्बन्धी मिडिया ब्रिफिङ्गको क्रममा उहाँले भारतका विभिन्न राज्यमा अहिले पनि कोरोनाको दर कम हुनुको साटो झन् बढ्दै जानु चिन्ताको विषय रहेको बताउनुभयो ।
डा. टेड्रोसले भारतका विभिन्न राज्यमा अहिले पनि अस्पतालमा बिरामी भर्नाका लागि पर्याप्त सुविधा नरहेको र मृत्यु हुने क्रम पनि जारी नै रहनु चिन्ताको विषय रहेको उल्लेख गर्नुभयो ।
उहाँले कोरोनाको दोस्रो लहर पहिलो लहरको तुलनामा बढी खतरनाक र गम्भीर रहेको भन्दै महामारीविरुद्ध लड्नका लागि विश्व स्वास्थ्य संगठनले सहयोग गरिरहेको पनि बताउनुभयो ।
भारतमा हजारौंको संख्यामा अक्सिजन कन्सेट्रेटर्स, मोबाइल फील्ड हस्पिटलका लागि टेन्ट, मास्क र अन्य स्वास्थ्य सामग्रीको आपूर्ति गरिरहेको भन्दै उहाँले भारतमा अझै पनि निकै चिन्ताजनक अवस्था रहेको बताउनुभयो ।
डा.टेड्रोसले नेपाल, श्रीलंका, भियतनाम, थाइल्याण्ड र मिस्र जस्ता मुलुकमा कोरोनाको बढ्दो दर चिन्ताको विषय बनेको भन्दै यी मुलुकहरुमा पनि स्वास्थ्य सेवाको अवस्था ठिक नरहेको पनि बताउनुभयो ।
प्रतिक्रिया