भारतको पाँच राज्यमा भएको विधानसभा चुनावको नतिजा आउने क्रम जारी
२० वैशाख २०७८ कोलकाता । भारतमा विधानसभा चुनाव अन्तर्गत पश्चिम बंगालसहित ५ राज्यको अन्तिम परिणाम आउने क्रम जारी छ ।
पश्चिम बंगालमा मुख्यमन्त्री ममता बनर्जीको दल तृणमुल कंग्रेसले नै बहुमत भन्दा बढी स्थानमा जित हासिल गरेको छ । मुख्यमन्त्री बनर्जी भने भारतीय जनता पार्टी भाजपाका नेता सुबेन्दु अधिकारीसँग पराजित भएकी छिन् ।
आफू हारेपनि उनले तृणमूल कंग्रेसलाई शानदार जित दिलाएकी छिन् । तर उनले भाजपाले धाँधली गरेको भन्दै परिणामविरुद्ध अदालत जाने बताएकी छिन् ।
तृणमूल कंग्रेसमै रहेका सुबेन्दु भाजपामा प्रवेश गरेर नन्दीग्रामबाट उठ्ने निर्णय गरेपछि बनर्जीले पनि सोही क्षेत्रबाट चुनाव लडेकी थिइन् । २ सय ९२ सिट रहेको बंगालमा बनर्जीको दलले २ सय ९ सिटमा जितेको छ भने ४ सीटमा अग्रता लिएको छ ।
त्यस्तै भाजपाले ७७ सीट जित्दा १ सीटमा अघि छ । यसैगरी तमिलनाडुमा डिएमके बहुमत सिटमा विजयी भएको छ । २ सय ३४ सिट रहेको तमिलनाडुमा डिएमकेले १ सय ३० सिट जित्दा २६ स्थानमा अग्रता बनाएको छ ।
त्यस्तै एआईएडिएमकेले ६६ सिटमा जित हासिल गर्दा १० स्थानमा अघि छ । उता असम, केरल र पुडुचेरीको अन्तिम परिणाम भने आइसकेको छ । १ सय २६ सिट रहेको असममा भाजपाले ७६ तथा कंग्रेस आई गठबन्धनले ४९ सिट जिते ।
त्यस्तै केरल विधानसभामा भारत कम्युनिष्ट पार्टी मार्क्सवादीसहितको एलडीएफ गठबन्धनले ९७ स्थानमा जित हासिल गरेको छ । कांग्रेस आईसहितको युडिएफले ४१ स्थान जितेको ।
केरलमा १ सय ४० विधानसभा सिट छन् । ३० सिट रहेको राज्य पुडुचेरी विधानसभामा भारतीय जनता पार्टी भाजपा गठबन्धनले १६ तथा कंग्रेसले ८ स्थान जिते ।
प्रतिक्रिया