विदेश

भारतमा ४ लाख २ हजार बढी कोरोना संक्रमित थपिए, ३५ सय बढीको मृत्यु

हिमालय टिभी
२०७८ वैशाख १८ गते ८:१६
भारतमा ४ लाख २ हजार बढी कोरोना संक्रमित थपिए, ३५ सय बढीको मृत्यु

१८ वैशाख २०७८ नयाँ दिल्ली । छिमेकी देश भारतमा पछिल्लो पटक ४ लाख २ हजार भन्दा बढी कोरोना संक्रमित थपिंदा ३५ सय भन्दा बढीको मृत्यु भएको छ ।

कोरोना संक्रमणको नयाँ भेरिएन्टका कारण थप भयावह बनिरहेको भारतमा संक्रमित हुनेको संख्या अहिलेसम्मकै धेरै हो ।

यसअघि त्यहाँ गएको अप्रिल २९ तारिखमा एकैदिन अहिलेसम्मकै बढी झण्डै तीन लाख ८७ हजार जना संक्रमित थपिएका थिए । त्यस्तै अप्रिल २८ मा अहिलेसम्मकै धेरै ३६ सय बढीले ज्यान गुमाएका थिए ।

कोरोनाको दोस्रो लहर अनियन्त्रित बनिरहेको भारतमा अहिलेसम्म १ करोड ९१ लाख भन्दा बढी संक्रमित हुँदा मृत्यु हुनेको संख्या २ लाख ११ हजार नाघेको छ । त्यस्तै सक्रिय संक्रमितको संख्या ३२ लाख ७२ हजार नाघ्दा संक्रमणमुक्त हुने १ करोड ५६ लाख ७३ हजार नाघेका छन् ।

उता भारतमा बढ्दो संक्रमण बढेको भन्दा आउने मे चार तारिखदेखि अमेरिकाले भारतसँगको यात्रा प्रतिबन्ध लगाउने घोषणा गरेको छ । भारतमा संक्रमणको अवस्था अति भयानक रहेको र त्यहाँ देखिएका नयाँ भेरियन्टका कारण थप चिन्ता थपिएको अमेरिकाको भनाइ छ ।

यसैबीच भारतमा आजदेखि १८ वर्ष भन्दा माथि उमेर समूहकालाई कोरोनाविरुद्धको खोप लगाउने भएको छ । कोरोना महामारी न्यूनिकरणका लागि आज भारत तेस्रो चरणको खोप अभियान शुरु हुँदैछ । यस चरणमा १८ देखि ४४ वर्षका सबैलाई खोप लगाउने सरकारको तयारी छ ।

खोपको तेस्रो चरण आजदेखि शुरु हुने भनिएपनि कैयन् राज्यमा अझै खोप नजपुगेका कारण अभियान प्रभावित हुन सक्ने भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

पछिल्लो समय विश्वमा कोरोनाका ८ लाख ७१ हजार बढी संक्रमित थपिए । त्यस्तै सोही अवधिमा १४ हजार भन्दा बढीले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *