विदेश

किर्गिस्तान र ताजिकिस्तानको सीमा क्षेत्रमा पानीका विषयमा झडप, ३१ बढीको मृत्यु

हिमालय टिभी
२०७८ वैशाख १८ गते ७:१८
किर्गिस्तान र ताजिकिस्तानको सीमा क्षेत्रमा पानीका विषयमा झडप, ३१ बढीको मृत्यु

१८ वैशाख २०७८ किर्गिस्तान । किर्गिस्तान र ताजिकिस्तानको विवादित सीमामा पानीको विषयमा भएको झडपमा कम्तिमा ३१ जनाको मृत्यु भएको छ । घटनामा सयौ घाइते भएका छन् ।

पानीका विषयमा शुरु भएको विवाद झडपमा परिणत भएपछि त्यहाँबाट दश हजार बढीलाई सुरक्षित स्थानमा सारिएको बीबीसीले जनाएको छ। झडपको शुरुवात एकअर्कामाथि ढुंगा प्रहारबाट भएको थियो । पछि झडपले हिंसात्मक रुपमा लिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

यसअघि त्यहाँ रहेको पानीको एउटा स्रोत वरपर सर्भिलेन्स क्यामेरा जडान गरिएको थियो । हिंसात्मक झडपपछि दुवै पक्षबीच पछि हट्ने सहमति भएको छ । तर घटनास्थलमा गोली चलेको आवाज आइरहेको बताइएको छ।

किर्गिस्तानका स्वास्थ्य मन्त्री अलीजा सोल्टनबिकोभाले टेलिभिजन सन्देश जारी गर्दै घटनामा अहिलेसम्म ३१ जनाको मृत्यु भएको र १५० जना घाइते भएको बताएका छन् । मृत्यु हुनेमा एक जना बालिकासमेत रहेको किर्गिस्तान सरकारले जनाएको छ। ताजिकिस्तानतर्फ भएको मानवीय क्षतिका बारेमा कुनै जानकारी नआएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । एउटा सीमा चौकी, २० बढी घर, एउटा विद्यालय,आठ पसल र एउटा क्यासिनामा आगजनी भएको किर्गिस्तानको आपतकालीन मन्त्रालयले जनाएको छ।

किर्गिस्तान र ताजिकिस्तानबीच विगत कयौ वर्षदेखि केही पानीको स्रोतका विषयमा तनाव उत्पन्न हुने गरेको छ, जुन दुवै दशले आफ्नो भएको दाबी गर्दै आएका छन् । दुई देशबीच विगत तीन दशकदेखि सीमा विवाद चलिरहेको छ।

ताजिकिस्तान र किर्गिस्तानबीच ६ सय मिलको एक तिहाइ इलाका विशेष रुपले विवादित छ । सीमामा दुवैतर्फका समुदायले त्यहाँको जमिन र पानीको स्रोतमाथि आफ्नो अधिकार भएको दाबी गर्दै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *