भारतमा एकैदिन ३ लाख ६३ हजारमा कोरोना संक्रमण, ३२ सय बढीको मृत्यु

१५ वैशाख २०७८ नयाँ दिल्ली । छिमेकी देश भारतमा कोरोना भाइरसबाट संक्रमित तथा मृत्यु हुनेको संख्या अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ ।
पछिल्लो पटक त्यहाँ झण्डै ३ लाख ६३ हजार कोरोना संक्रमित थपिंदा ३२ सय भन्दा बढीको मृत्यु भयो । यसअघि त्यहाँ अप्रिल २५ मा एकै दिन ३ लाख ५४ हजार ५ सय भन्दा बढी संक्रमित हुँदा २८ सय भन्दा बढीको मृत्यु भएको थियो ।
संक्रमितको चाप अत्याधिक भएसँगै त्यहाँ कोरोना विशेष अस्पतालहरुमा बेड तथा अत्यावश्यक अक्सिजनको चरम अभावको अवस्था अझै सामान्य हुन सकिरहेको छैन । अस्पतालमा संक्रमितले अक्सिजन नपाएरै ज्यान गुमाइरहेको छन् ।
कोरोना भाइरसको नयाँ भेरिएन्टका कारण दोस्रो लहर दिनहुँ भयावह बनिरहेको भारतमा अहिलेसम्म १ करोड ७९ लाख भन्दा बढी संक्रमित हुँदा मृत्यु हुनेको संख्या २ लाख नाघेको छ ।
त्यस्तै २९ लाख भन्दा बढी हुँदा संक्रिय संक्रमित रहँदा संक्रमणमुक्त हुने १ करोड ४८ लाख नाघेका छन् । कोरोना प्रभावितका आधारमा भारत विश्वमै दोस्रो सूचिमा छ ।
भारतमा सबैभन्दा प्रभावित राज्यमा महाराष्ट्र, दिल्ली, उत्तर प्रदेश रहेका छन् । पछिल्लो पटक विश्वभर करिब ८ लाख २५ हजार बढी कोरोनाका संक्रमित थपिए । त्यस्तै १४ हजार ६ सय भन्दा बढीको मृत्यु भयो ।
प्रतिक्रिया