विदेश

भारतको नासिकमा अक्सिजन बन्द हुँदा २२ जना कोरोना संक्रमितको मृत्यु

हिमालय टिभी
२०७८ वैशाख ८ गते १५:२०
भारतको नासिकमा अक्सिजन बन्द हुँदा २२ जना कोरोना संक्रमितको मृत्यु

८ वैशाख २०७८ नयाँ दिल्ली । भारतको महाराष्ट्र राज्यको नासिकको एउटा अस्पतालमा अक्सिजन ट्यांकर चुहिँदा कम्तीमा २२ जना कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ ।

नासिकको जाकिर हुसेन अस्पतालमा आज बिहान अस्पतालको बाहिर रहेको अक्सिजन ट्यांकर चुहिँदा करिब आधा घण्टा अस्पतालमा अक्सिजन आपूर्ति अवरुद्ध भएको थियो । जसले गर्दा भेन्टिलेटरमा उपचार भइरहेका करिब १५० सिकिस्त बिरामीले आधा घण्टासम्म अक्सिजन पाएनन् ।

अक्सिजन आपूर्ति अवरुद्ध हुँदा तीमध्ये कम्तीमा २२ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । अक्सिजन चुहिएपछि अस्पताल परिसर पूरै कुहिरीमण्डल बनेको थियो ।

लामो प्रयासपछि प्राविधिकहरु चुहावट रोक्न सफल भएका थिए । घटनालगत्तकै अक्सिजन आवश्यक सिकिस्त बिरामीहरुलाई तत्कालै अन्य अस्पतालमा सारिएको छ ।

घटनाका सम्बन्धमा महाराष्ट्र राज्य सरकारले छानबिन गर्ने भएको छ । भारतमा कोरोना संक्रमण तीव्र बनेसँगै मुलुकभर अक्सिजनको हाहाकार छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ लाख ९४ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् ।

जुन कोरोना महामारी सुरु भएयताकै सबैभन्दा बढी हो । संक्रमित संख्या दुई लाख नाघेको लगातार सातौँ दिन हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *