जर्ज फ्लोइडको हत्या अभियोगमा एक जना पूर्व प्रहरी अधिकारी दोषी ठहर

८ वैशाख २०७८ न्युयोर्क । अमेरिकामा अफ्रिकी–अमेरिकी नागरिक जर्ज फ्लोइडको हत्या अभियोगमा एक जना पूर्व प्रहरी अधिकारी दोषी ठहर भएका छन् ।
अमेरिकी जुरीले मिनेशोटा राज्यको मिनिआपुलिसको सडकमा फ्लोइडको मृत्युमा पूर्व प्रहरी अधिकारी डेरेक चोभनलाई दोषी ठहर गरेको हो । दुई हप्ताको सुनुवाइ र ४५ जना साक्षीको बयान एवम् पक्ष-विपक्षका वकिलको बहस सुनेपछि १२ सदस्यीय जुरीले निर्णय लिएको हो ।
जुरीले चोभनलाई सेकेण्ड डिग्री मर्डर र थर्ड डिग्री मर्डर एवम् मानव हत्या अभियोगमा दोषी ठहर गरेको हो । जेल सजाय नपाएसम्म उनी हिरासतमै रहनेछन् र उनले सबै आरोपमा ७५ वर्षसम्म सजाय पाउन सक्ने अमेरिकी सञ्चार माध्यमले जनाएका छन् ।
जुरीको फैसलासँगै अदालत बाहिर हजारौंको संख्यामा रहेका नागरिकले खुशीयाली मनाएका थिए । त्यस्तै फैसला लगत्तै राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले फ्लोइड परिवारलाई टेलिफोन गरेका थिए ।
गत वर्ष प्रहरीले पक्राउ गर्ने क्रममा गरेको ज्यादतीका कारण अश्वेत अमेरिकी ४६ वर्षे फ्लोइडको मृत्यु भएको थियो । पक्राउ गर्ने क्रममा ४५ वर्षीय प्रहरी अधिकारीले नौ मिनेटभन्दा बढी समयसम्म घुँडाले फ्लोइडको घाँटी थिचेको भिडियो सार्वजनिक भएको थियो ।
भिडियो सार्वजनिक भएपछि अमेरिकासहित विश्वभर नै रंगभेद र प्रहरी प्रशासनको ज्यादतीविरुद्ध प्रदर्शन भएको थियो ।
प्रतिक्रिया