विदेश

भारतमा एकैदिन झण्डै तीन लाख कोरोना संक्रमित थपिए

हिमालय टिभी
२०७८ वैशाख ८ गते ८:२२
भारतमा एकैदिन झण्डै तीन लाख कोरोना संक्रमित थपिए

८ वैशाख २०७८ नयाँ दिल्ली । छिमेकी देश भारतमा लगातार एकै दिन झण्डै तीन लाख संक्रमित थपिएका छन् ।

पछिल्लो पटक भारतमा २ लाख ९४ हजार भन्दा बढी कोरोना संक्रमित थपिएका हुन् । अघिल्लो दिन मात्रै त्यहाँ झण्डै २ लाख ५७ हजार जनामा संक्रमण पुष्टि भएको थियो ।

कोराना महामारीको दोस्रो लहरबाट भारत विश्वमै सबैभन्दा बढी प्रभावित देश हो । संक्रमणका कारण भारतमा दिनहुँ जनजीवन भयावह हुँदै गइरहेको छ । केन्द्रीय राजधानी दिल्लीसहित अधिकांश राज्यमा लकडाउन गरिएको छ ।

यस्तै पछिल्लो समय भारतमा संक्रमणकै कारण २ हजार भन्दा बढीको मृत्यु भयो । अघिल्लो दिन १७ सय बढीले ज्यान गुमाएका थिए । भारतमा एकैदिन संक्रमित तथा मृत्यु हुनेको संख्या अहिलेसम्मकै उच्च हो । योसँगै भारतमा संक्रमितको संख्या १ करोड ५६ लाख नाघेको छ ।

त्यस्तै सक्रिय संक्रमितको संख्या २१ लाख ५६ हजारभन्दा बढी हुँदा संक्रमणमुक्त हुने १ करोड ३२ लाखभन्दा बढी छन् । त्यस्तै त्यहाँ संक्रमणबाट अहिलेसम्म १ लाख ८२ हजार पाँच सय भन्दा बढीले ज्यान गुमाइसकेका छन् ।

पछिल्लो समय विश्वभर ८ लाखभन्दा बढी कोरोनाका संक्रमित थपिए । यो अवधिमा ब्राजिलमा ७३ हजार, टर्कीमा ६१ हजार तथा अमेरिकामा ५७ हजार भन्दा बढीमा संक्रमण भयो ।

पछिल्लो पटक विश्वभर १३ हजार ३ सय भन्दा बढीको कोरोना संक्रमणबाट मृत्यु भयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *