विदेश

भारतमा भयावह बन्दै कोरोना, मृत्यु हुनेको संख्या बढ्यो ह्वात्तै

हिमालय टिभी
२०७८ वैशाख ६ गते ७:५४
भारतमा भयावह बन्दै कोरोना, मृत्यु हुनेको संख्या बढ्यो ह्वात्तै

६ वैशाख २०७८ नयाँ दिल्ली । कोरोनाको दोस्रो लहर दिनहुँ भयावह भइरहेको छिमेकी देश भारतमा पछिल्लो पटक विश्वमै सबैभन्दा बढी संक्रमित थपिंदा मृतक संख्या पनि सबैभन्दा बढी रह्यो ।

त्यहाँ लगातार पाँचौ दिन पनि कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दुई लाख भन्दा माथि रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २ लाख ७५ हजार भन्दा बढी संक्रमित थपिए ।

यसअघि हिजो मात्रै त्यहाँ करिब २ लाख ६१ हजार जनामा संक्रमण पुष्टि भएको थियो । कोरोना महामारी शुरु भएयता भारतमा एकैदिन संक्रमित हुने यो संख्या अहिलेसम्मकै उच्च हो । यससँगै भारतमा संक्रमितको संख्या १ करोड ५० लाख ५७ हजार नाघेको छ ।

त्यस्तै सक्रिय संक्रमितको संख्या १९ लाख ३० हजार भन्दा बढी हुँदा संक्रमणमुक्त हुने १ करोड २९ लाख नाघेका छन् । त्यस्तै त्यहाँ संक्रमणबाट अहिलेसम्म १ लाख ७८ हजार भन्दा बढीले ज्यान गुमाइसकेका छन् ।

पछिल्लो समय भारतपछि अमेरिकामा ४३ हजार तथा ब्राजिलमा ४२ हजार भन्दा बढी संक्रमित भए । सो अवधिमा विश्वभर झण्डै ७ लाख कोरोनाका संक्रमित थपिए । विश्वभर संक्रमित हुनेको संख्या भने केही घटेको हो ।

त्यस्तै सोही अवधिमा संक्रमणबाट सबैभन्दा बढी भारतमै १६ सय भन्दा बढी तथा ब्राजिलमा १५ सय भन्दा बढीको मृत्यु भएको छ । पछिल्लो पटक विश्वमा कोरोना संक्रमित मध्ये झण्डै ८ हजार ९ सय जनाको मृत्यु भयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *