विदेश

कोरोना महामारी अन्त्य हुन अझै धेरै समय लाग्नेः डब्ल्युएचओ

हिमालय टिभी
२०७७ चैत ३१ गते ९:३७
कोरोना महामारी अन्त्य हुन अझै धेरै समय लाग्नेः डब्ल्युएचओ

३१ चैत २०७७ काठमाडौं । कोरोना महामारीको अन्त्य हुन धेरै समय लाग्ने विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले बताएको छ ।

डब्ल्यूएचओ प्रमुख डा। टेड्रोस एड्हानोम गेहब्रेयससले महामारी सकिन अझै धेरै समय लाग्ने भएकाले स्वास्थ्य मापदण्डका उपायहरु पालना गर्नुपर्ने बताउनु भयो ।

विश्वभर नै कोरोनाका संक्रमित तथा यसबाट मृत्यु हुनेको संख्या लगातार बढिरहेको भन्दै डब्ल्यूएचओले स्वास्थ्य मापदण्डको पालना र आत्मसंयमता कायम गर्न आग्रह गरेको छ ।

सामाजिक, अर्थतन्त्र, व्यापार, यात्रा जस्ता क्रियाकलाप पुनः शुरु भएको देख्ने सबैको चाहना भएपनि महामारी नियन्त्रणको विकल्प स्वास्थ्य मापदण्डका पालना गर्नु नै रहेको उहाँको जोड छ ।

डब्ल्यूएचओकी इपिडिमियोलोजिष्ट मारिया भानले संक्रमण दर पछिल्लो हप्ता ९ प्रतिशत र मृत्युदर ५ प्रतिशतले बढेको जानकारी गराइन् । कोरोना महामारीबाट सबैभन्दा प्रभावित देश अमेरिका रहेको छ । त्यसपछि भारत र ब्राजिल धेरै संक्रमितको सूचीमा छन् ।

गएको २४ घण्टामा भारतमा सबैभन्दा धेरै १ लाख ६० हजार भन्दा बढीमा संक्रमण पुष्टि भयो । त्यस्तै अमेरिकामा ५६ हजार तथा टर्कीमा ५४ हजार बढी संक्रमित थपिए । पछिल्लो समय विश्वभर ५ लाख ८८ हजार भन्दा बढी कोरोना संक्रमित थपिए । यससँगै विश्वभर कोरोना संक्रमित हुनेको संख्या १३ करोड ७२ लाख ४९ हजार नाघेको छ ।

उता पछिल्लो समय ब्राजिलमा सबैभन्दा धेरै १ हजार ७ सय बढीको मृत्यु भयो । त्यहाँको मृतक संख्या भने अघिल्लो दिनको तुलनामा केही कम हो । त्यस्तै भारतमा ८ सय ८० तथा अमेरिकामा ४ सय ६० जनाको मृत्यु भयो ।

गएको २४ घण्टामा विश्वभर झण्डै ९ हजार कोरोना संक्रमितको मृत्यु भयो । विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या २९ लाख ५८ हजार नाघेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *