विदेश

म्यानमारमा सैन्य सत्ताविरुद्ध भएको प्रदर्शनमा दमन, ८० जनाको मृत्यु

हिमालय टिभी
२०७७ चैत २९ गते ८:१५
म्यानमारमा सैन्य सत्ताविरुद्ध भएको प्रदर्शनमा दमन, ८० जनाको मृत्यु

२९ चैत २०७७ म्यानमार । म्यानमारमा पछिल्लो पटक भएको सैन्य सत्ताविरुद्धको प्रदर्शनमा ८० जनाको मृत्यु भएको छ।

शुक्रबार यांगुन शहर आसपासमा प्रदर्शनकारीमाथि सेनाले अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा ८० जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमको भनाइ छ ।

म्यानमारको असिस्टेन्स एसोसिएसन फर पोलिटिकल प्रिज्नर्सले ८० जनाको गोली लागेर मृत्यु भएको जनाएको हो । यांगुनको उत्तर पूर्वी शहर बागोमा भएको सैन्य कारवाहीमा मृतक संख्या अझै यकिन गरेर भन्ने अवस्था नरहेको सञ्चारमाध्यमले जनाएका छन् ।

सेनाले त्यहाँ एक माथि अर्को गर्दै लाश राखेर घेराबन्दी गरेको र शव पनि लगेर गएको प्रत्यक्षदर्शीलाई उल्लेख गर्दै सञ्चारमाध्यमले बताएका छन् ।

उता विभिन्न स्थानीय सञ्चारमाध्यमले ८२ जनाको मृत्यु भएको बताएपनि मृतक संख्या अझै धेरै रहेको दाबी गरेका छन् । त्यस्तै स्थानीयलाई नजिकका गाउँमा भाग्न बाध्य पारिएकाले घटना एक दिनपछि मात्रै सार्वजनिक भएको हो ।

गएको फेब्रुअरी १ तारिखमा सैनिक कू पछि म्यानमारमा जारी प्रदर्शनका क्रममा अहिलेसम्म ७ सय जना भन्दा बढीले ज्यान गुमाइसकेका छन् । सैनिक सरकारले भने यस अवधिमा २ सय ४८ जना नागरिक र १६ जना सुरक्षाकर्मीको मृत्यु भएको बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *