अमेरिकी रक्षामन्त्री अस्टिनद्वारा अचानक अफगानिस्तान भ्रमण

९ चैत २०७७ काबुल । अमेरिकी रक्षामन्त्री लोइड अस्टिनले अफगानिस्तानको अघोषित भ्रमण गरेका छन्।
अफगानिस्तानमा बाँकी रहेका आफ्ना सबै सेना फिर्ता गर्ने योजनाको केही साता पहिला उनले यो भ्रमण गरेका हुन्। राष्ट्रपति अशरफ घानीसँग काबुलमा भेटेपछि रक्षामन्त्री अस्टिनले जिम्मेवार रुपमा युद्धको अन्त्य गर्न आह्वान गरे।
तर समयावधिभित्रै फौज फिर्ता हुन्छन् कि हुन्नन् भन्नेबारे चाहिँ उनले केही बताएका छैनन् । अस्टिनले द्वन्द्वको अन्त्यका लागि वार्ताका लागि जारी हिंसात्मक गतिविधि कम गर्न अफगान सरकार र विद्रोही समूह तालिवानलाई आग्रह गरेका छन् ।
आफ्ना फौज फिर्ता गर्नेबारे गत वर्ष ट्रम्प प्रशासनका बेला अमेरिकाको तालिबानसँग सहमति भएको थियो। अमेरिकी राष्ट्रपति जो बाइडनले मे १ तारिखको समयावधिभित्रै सेना फिर्ताको काम कठिन हुने बताइसकेका छन्।
अफगानिस्तानको भ्रमण गर्ने बाइडनको मन्त्रिपरिषद्का अस्टिन पहिलो सदस्य हुन्। एसियाको संक्षिप्त भ्रमणको अन्त्यतिर आइतबार उनी काबुल गएका हुन्। अन्तिम सम्झौतामा नपुग्दै अमेरिकी सेना फिर्ता भए भने तालिवान शक्तिमा फर्किन सक्ने आशङ्का गरिएको छ ।
प्रतिक्रिया