विदेश

ताञ्जानियाका राष्ट्रपति जोन मागुफुलीको निधन

हिमालय टिभी
२०७७ चैत ५ गते ७:५१
ताञ्जानियाका राष्ट्रपति जोन मागुफुलीको निधन

५ चैत २०७७ ताञ्जानिया । पूर्वी अफ्रिकी देश ताञ्जानियाका राष्ट्रपति जोन मागुफुलीको निधन भएको छ ।

६१ वर्षीय राष्ट्रपति मागुफुलीको निधन भएको उपराष्ट्रपतिले घोषणा गरेका हुन् । मुटुको समस्याका कारण उनको अस्पतालमा मृत्यु भएको उपराष्ट्रपति सनिमा सुलुहु हसनले टेलिभिजन सम्बोधनमार्फत जानकारी दिएकी हुन् ।

राष्ट्रपति मागुफुली विगत दुई हप्तादेखि सार्वजनिक रुपमा नदेखिएपछि उनको स्वास्थ्यमा समस्या रहेको अड्कल गर्न थालिएको थियो । उता उनलाई कोरोना भाइरसको संक्रमण भएको बताएपनि यसको पुष्टि हुन सकेको छैन ।

कोरोना संक्रमित उनको केन्यामा उपचार भएको एक विपक्षी नेताले बताएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । कोरोना भाइरसलाई संदिग्ध मान्ने अफ्रिकी नेता मध्ये मागुफुली एक प्रमुख व्यक्ति मानिन्थे ।

उनले देशमा गत मे महिनादेखि नै कोरोना सम्बन्धि सूचना दिन बन्द गरेका थिए भने कोरोनाको खोप पनि किन्नु नपर्ने घोषणा गरेका थिए । त्यस्तै गत जुन महिनामा ताञ्जानियालाई कोरोनामुक्त देश घोषणा गरिएको थियो ।​

उनले भाइरसको प्रतिरोध गर्न प्रार्थना र जडीबुटीको थेरापी आवश्यक रहेको बताउँदै आएका थिए । राष्ट्रपतिको निधनमा १४ दिने राष्ट्रिय शोकको घोषणा गरिएको छ भने राष्ट्रिय झण्डा आधा झुकाइने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *