विदेश

अक्सफोर्ड–एष्ट्राजेनिका खोपले रगत जमेको पाइएनः ईएमए

हिमालय टिभी
२०७७ चैत ४ गते ७:३४
अक्सफोर्ड–एष्ट्राजेनिका खोपले रगत जमेको पाइएनः ईएमए

४ चैत २०७७ काठमाडौं । कोरोनाविरुद्धको अक्सफोर्ड–एष्ट्राजेनिका खोपले रगत जमेको संकेत नपाइएको युरोपियन संघको औषधि नियमन निकायले बताएको छ ।

युरोपियन मेडिसिन्स एजेन्सी (ईएमए) ले खोपकै कारण ब्लड क्लट्स अर्थात रगत जमेको प्रमाण नभएको दोहोर्‍याएको हो । खोपको केही साइड इफेक्टस् भए पनि यसका फाइदा धेरै रहेको ईएमए प्रमुख इमर कुकले बताइन् ।

ईयुका कैयन् देशले खोपका कारण स्वास्थ्यमा प्रतिकूल असर परेको भन्दै अक्सफोर्ड(एष्ट्राजेनिकाको खोपमा अस्थायी रोक लगाएका छन् । डेनमार्क र नर्वेमा खोप दिइएका मानिसमा रगत जमेको घटनापछि आयरल्याण्ड, नेदरल्याण्ड्स, जर्मनी, फ्रान्स, इटाली र स्पेनले खोप नलगाउने निर्णय गरेका थिए ।

त्यस्तै डेनमार्क, नर्वे, बुल्गेरिया, आइसल्याण्ड र थाइल्याण्डले पनि उक्त खोप लगाउन बन्द गरेका थिए । तर ईयुका सदस्य राष्ट्र पोल्याण्ड र बेल्जियमले खोपको प्रयोग जारी राखेका छन् । उता विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले पनि खोप सुरक्षित रहेको भन्दै खोप अभियान नरोक्न अपिल गर्दै आइरहेको छ ।

बेलायतसहित युरोपका विभिन्न देशमा हालसम्म एक करोड ७० लाख भन्दा बढिले अक्सफोर्ड(एष्ट्राजेनिका खोपको पहिलो डोज लगाइसकेका छन् । गत हप्तासम्म ४० जनामा ब्लड क्लट्सको विकास भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *