विदेश

म्यान्मारको विरोध प्रदर्शनमा अहिलेसम्म कम्तीमा १३८ जनाको मृत्यु

हिमालय टिभी
२०७७ चैत ३ गते १४:४३
म्यान्मारको विरोध प्रदर्शनमा अहिलेसम्म कम्तीमा १३८ जनाको मृत्यु

३ चैत २०७७ म्यान्मार । म्यान्मारमा सेनाले गत फेब्रुअरी १ मा सत्ता लिएपश्चात् त्यसको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि सेनाले चलाएको गोली लागेर सोमबारसम्म कम्तीमा १३८ जनाको मृत्यु भएको राष्ट्रसङ्घले जनाएको छ ।

राष्ट्रसङ्घ महासचिवका प्रवक्ता स्टिफेन डुजारिकले गर्नु भएको नियमित पत्रकार सम्मेलनमा सेनाको गोली लागेर आइतबार एकै दिन ३८ जनाको मृत्यु भएको जानकारी दिनुभयो । उहाँले यी हत्याकाण्ड याङ्गुनको हाइलाङ थायेर क्षेत्रमा भएको पनि राष्ट्रसङ्घीय मानव अधिकारी कार्यालयको भनाई उद्धृत गर्दै बताउनुभयो ।

म्यान्मारमा शनिबार पनि १८ जनाको ज्यान गएको थियो ।

उहाँले भन्नुभयो, “राष्ट्रसङ्घ महासचिवले शान्तिपूर्ण प्रदर्शनमा सहभागीमाथि भएको यस किसिमको हिंसात्मक कारबाही कुनै पनि हालतमा स्वीकार्य छैन । म्यान्मारका जनताको आधारभूत अधिकार निरन्तर उल्लङ्घन भइरहेकामा राष्ट्रसङ्घ निन्दा गर्दछ ।”

राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले क्षेत्रीय एवं अन्तर्राष्ट्रिय समुदायलाई म्यान्मारका जनताको पक्षमा ऐक्यबद्धता जनाउन पनि आग्रह गर्नु भएको छ ।

यसैबीच, म्यान्मारको सेनाले ठूलो संख्यामा प्रदर्शनकारी मारिएपछि याङ्गुनका विभिन्न क्षेत्रमा सैनिक कानुन लगाएको छ । निक्की एसियाका अनुसार यस क्षेत्रमा प्रदर्शनकारीले चिनियाँहरुको स्वामित्वमा रहेका धेरैवटा कारखानामा आगजनी गरिदिएका थिए ।

सेनाले गत फेब्रुअरीमा सत्ता आफ्नो हातमा लिएपछि सेना विरुद्ध दिनहुँ प्रदर्शनहरु भइरहेका छन् । सेनाले आङ सान सुकीको निर्वाचित सरकारलाई अपदस्थ गर्नुका साथै संसदको नयाँ निर्वाचनलाई पनि खारेज गरिदिएको छ ।

यसैबीच, जापानको भ्रमणमा रहनु भएका अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले म्यान्मारमा सेनाले गरेको ज्यादती निकै भयानक रहेको र त्यो कुनै पनि हालतमा स्वीकार्य नहुने बताउनु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *