नेपाल र भुटानसँगको सीमा क्षेत्रमा रहेको एसएसबीको युनिट सङ्ख्या बढाउँदै भारत
२० फागुन २०७७ नयाँ दिल्ली । भारतको गृह मन्त्रालयले नेपाल र भुटानसँगको सीमा क्षेत्रमा रहेको सशस्त्र सीमा बल (एसएसबी) को युनिटको सङ्ख्या बढाउने प्रस्तावलाई सैद्धान्तिक स्वीकृति दिएको छ ।
भारतीय सञ्चार माध्यमहरुका अनुसार नेपाल र भुटानसँगको सीमा क्षेत्रमा थप १३ हजार फौज खटाउने निर्णय भएको छ । सीमा क्षेत्रमा सुरक्षालाई अझ सुदृढ बनाउन सो निर्णय भएको हो ।
निर्णयअनुसार अब नेपाल र भुटानसँगको सीमा क्षेत्रमा एसएसबीका १२ युनिट थपिने छन् । एसएसबीका महानिर्देशक कुमार राजेश चन्द्रले अब भारतले आफ्ना सीमा क्षेत्रमा प्रत्येक वर्ष ४ बटालियनका दरले युनिटको सङ्ख्या थप्दै जाने बताउनुभएको छ ।
त्यसैगरी नेपाल–भारत सिमानमा रहेका ४ वटा एकीकृत जाँच केन्द्र (आईसीपी) ५ सय ५८ पोष्ट थप गर्ने प्रस्तावलाई पनि भारतीय गृह मन्त्रालयले स्वीकृति दिएको छ । अहिले एसएसबीको सङ्ख्या ९० हजार रहेको छ । जुन नेपाल र भुटानसँगको सीमा क्षेत्रमा खटिएका छन् ।
त्यसैगरी भारतीय गृह मन्त्रालयलले इन्डो तिब्बतीयन बोर्डर पुलिसको सङ्ख्यासमेत १० हजारले बढाउने निर्णय गरेको छ ।
प्रतिक्रिया