निर्वाचन आयोगमाथि दबाव दिन नेकपा प्रचण्ड–नेपाल समूह आक्रामक हुने
१९ फागुन २०७७ काठमाडौं । नेकपाको प्रचण्ड नेपाल समूह निर्वाचन आयोगमाथि दबाब बढाउन आक्रामक ढंगले प्रस्तुत हुने भएको छ ।
पटकपटक गएर आधिकारिकताको दावी पेश गरेपनि बेवास्ता गरेको भन्दै नेकपा प्रचण्ड–नेपाल समूहले आयोगमाथि दबाब बढाउने निर्णय गरेको छ ।
त्यसका लागि प्रचण्ड–नेपाल समूहले अब बहुमत केन्द्रीय सदस्यको हस्ताक्षरसहित परिचय पत्र लगेर निर्वाचन आयोगमा बुझाउनेछ । प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटीको आज बसेको बैठकले आधिकारिकताबारे निर्णय दिन ढिला गरेकोमा निर्वाचन आयोगप्रति खेद व्यक्त गरेको छ ।
लोकतान्त्रिक व्यवस्थाका लागि महत्वपूर्ण मानिने संवैधानिक अंगको को स्वतन्त्र, निष्पक्ष र स्वायत्त भूमिकामाथि पनि प्रश्न उठाउँदै प्रचण्ड नेपाल समूहले खेद व्यक्त गरेको हो ।
प्रचण्ड–नेपाल समूहले निर्वाचन आयोग सरकारको दबावमा परेको आशंका गरेको छ । ढिलो न्याय दिनु न्याय नदिनु हो भन्नेतर्फ निर्वाचन आयोगको ध्यानाकर्षण गराउँदै उसले छिटो आधिकारिकताको निरुपण गर्न माग गरेको छ ।
प्रचण्ड–नेपाल आधिकारिकताको निवेदनसहित पटकपटक आग्रह गरेपनि निर्वाचन आयोगले ढिलाई गरेको छ । यसले निर्वाचन आयोगको भूमिकाप्रति सन्देह उत्पन्न भैरहेको छ ।
प्रचण्ड–नेपाल समूहको बैठकले केपी शर्मा ओलीलाई संसदीय दलको नेताबाट हटाएको विषय संसद सचिवालय र निर्वाचन आयोगमा जानकारी गराउने निर्णय गरेको छ ।
बैठकले आयोगमा वैधानिकताको दबाव, संसद र सरकार निर्माणमा निर्णय लिन सचिवालय र स्थायी कमिटीलाई जिम्मेवारी दिएको छ ।
प्रतिक्रिया