भारतमा आजदेखि दोस्रो चरणको खोप अभियान शुरु

१७ फागुन २०७७ नयाँ दिल्ली । भारतमा आजदेखि कोरोनाविरुद्ध दोस्रो चरणको खोप अभियान शुरु भएको छ ।
भारत सरकारले आजदेखि ४५ वर्षभन्दा माथिका स्वस्थ मानिसहरुलाई खोप लगाउँदैछ । दोस्रो चरणको खोप अभियानसँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाविरुद्धको खोप लगाउनुभएको छ ।
आज बिहान दिल्लीको एम्स अस्पतालमा उहाँले खोपको पहिलो डोज लगाउनुभएको हो । भारत सरकारले आजदेखि शुरु गरेको खोप अभियानअन्तर्गत स्वास्थ्य समस्या भएका मानिसहरुलाई भने खोप नलगाउने बताएको छ ।
आजदेखि शुरु भएको दोस्रो चरणको खोप अभियानका लागि भारत सरकारले देशभर १० हजार खोप केन्द्र निर्धारण गरेको छ । जहाँ निःशुल्क खोप लगाइँदैछ ।
यस्तै भारत सरकारले सबै केन्द्र सरकारका मन्त्रीलाई शुल्क तिरेर कोरोनाविरुद्धको खोप लगाउन निर्देशन दिएको छ । आजदेखि शुरु भएको दोस्रो चरणको खोप अभियानअन्तर्गत निजी अस्पतालमा खोप लगाउँदा २ सय ५० रुपैयाँ तिर्नुपर्नेछ ।
यसअघि पहिलो चरणको खोप अभियानअन्तर्गत सबै निजी अस्पतलामा पनि कोरोनाविरुद्धको खोप निःशुल्क लगाइएको थियो । भारतमा १६ जनवरीबाट शुरु भएको कोरोनाविरुद्धको खोप अभियानअन्तर्गत हालसम्म १ करोड ४२ लाखभन्दा बढीले खोप लगाइसकेका छन् ।
प्रतिक्रिया