विदेश

अमेरिकाले दियो जोन्सन एण्ड जोन्सनको खोपलाई प्रयोगको अनुमति

हिमालय टिभी
२०७७ फागुन १६ गते ८:१५
अमेरिकाले दियो जोन्सन एण्ड जोन्सनको खोपलाई प्रयोगको अनुमति

१६ फागुन २०७७ काठमाडौं । अमेरिकामा कोरोना भाइरसविरुद्धको जोन्सन एण्ड जोन्सन कम्पनीको खोपले आधिकारीकरुपमा प्रयोगको अनुमति पाएको छ ।

अमेरिकी नियामक निकाय युएस फूड एण्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडीए) ले उक्त कम्पनीको खोपलाई कोरोनाविरुद्ध देशमा तेस्रो खोपको रुपमा स्वीकृत गरेको हो ।

बेल्जियमको कम्पनी जोन्सनले बनाएको खोप अनुमोदन गर्ने अमेरिका पहिलो देश समेत बनेको छ। यसअघि त्यहाँ फाइजर र मोडेर्नाको खोप स्वीकृत भैसकेका थिए । फाइजर र मोडेर्नाको खोपको दुई डोज लगाउनु पर्छ भने यसको एक डोज मात्रै लगाए पुग्छ ।

त्यस्तै यो खोप सस्तो र भण्डारण गर्न पनि सहज रहनेछ । यो खोप अघिल्ला दुई जस्तो फ्रिजरमा नभएर सामान्य रेफ्रिजिरेटरमा भण्डारण गर्न सकिन्छ । त्यस्तै खोप निकै सस्तो हुने बताइए पनि अहिलेसम्म यसको मूल्यबारे भने जानकारी गराइएको छैन ।

कम्पनीले अमेरिकामा जून महिनाको अन्तसम्म १० करोड डोज खोप उपलब्ध गराउने सहमति समेत जनाएको छ । त्यस्तै बेलायत, युरोपियन युनियन र क्यानडाले पनि यस खोपको खरिद प्रक्रिया थालेका छन् ।

यसका अतिरिक्त कोभ्याक्स अभियान अन्तर्गत गरीब देशमा हुने आपूर्तिका लागि ५ करोड डोज माग गरिएको छ । कम्पनीद्वारा एक महिना अघि सार्वजनिक परीक्षणको नतिजा अनुसार यसको समग्रत प्रभावकारिता ६६ प्रतिशत देखिएको थियो ।

अमेरिका, दक्षिण कोरिया तथा ब्राजिलमा भएको परीक्षणमा प्रभावकारिता समान पाइएको थियो । तर दक्षिण अफ्रिका र ब्राजिलमा देखिएका नयाँ प्रकारका भाइसमा भने खोपको प्रभावकारिता केही कम देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *