जनसन एन्ड जनसनको खोप प्रभावकारी: एफडीए

१३ फागुन २०७७ न्युयोर्क । अमेरिकी नियामक संस्था फुड एन्ड ड्रग एडमिनिस्ट्रेशन (एफडीए) ले जनसन एन्ड जनसनले विकास गरेको कोरोनाविरुद्धको खोपलाई प्रभावकारी बताएको छ ।
एफडीएले खोपलाई सुरक्षित र प्रभावकारी भनेसँगै अमेरिकामा कोरोनाको तेस्रो खोपले मान्यता पाउने बाटो खुलेको छ । यस खोपको केवल एकडोज दिइने छ । जबकी फाइजर र मोडर्नासहित अन्य कोरोना विरुद्धको खोपको दुई डोज लिनु पर्नेछ ।
जनसन एन्ड जनसनले आफ्नो परीक्षणको नतिजा एक महिनाअघि सार्वजनिक गरेको थियोे । एफडीएका अनुसार यस खोपको ट्रायल अमेरिका, दक्षिण अफ्रिका र ब्राजीलमा गरिएको थियो । परीक्षणका क्रममा कोरोना भाइरसविरुद्ध लड्न यो खोप ८५ प्रतिशत प्रभावकारी र सुरक्षित पाइएको थियो ।
भोलि विशेषज्ञहरुको एक टिमले खोपलाई मान्यता दिनुपर्छ वा पर्दैन भन्ने विषयमा निर्णय गर्नेछन् । व्हाइट हाउसका अनुसार यदि एफडीएले यस खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दियो भने आउने साता यसको ३० लाख डोज उपलब्ध गराइनेछ ।
जनसन एन्ड जनसनको खोप फाइजर र मोडर्नाले विकास गरेको कोरोना खोपको राम्रो विकल्प र सस्तो हुन सक्ने बताइएको छ । साथै यो खोप फ्रिजरको साटो रेफ्रिजरेटरमा राख्न सकिन्छ ।
प्रतिक्रिया