विश्वमा कोरोनाविरुद्धको खोप वितरण असमान भएको भन्दै राष्ट्र संघद्वारा आलोचना

६ फागुन २०७७ न्युयोर्क । विश्वमा कोरोनाविरुद्ध खोपको वितरण असमान भइरहेको भन्दै संयुक्त राष्ट्र संघले आलोचना गरेको छ ।
राष्ट्र संघ प्रमुख एन्टोनियो गुटरेसले खोपको वितरण असमान रहेको भन्दै कडा आलोचना गरेका हुन् । कोरोना खोपमध्ये ७५ प्रतिशत केवल १० देशको कब्जामा रहेको भन्दै उनले यो अन्यायपूर्ण भएको बताए । तर उनले ती देशको नाम भने खुलाएनन् ।
हिजो राष्ट्र संघको सुरक्षा परिषदको उच्चस्तरीय बैठकलाई सम्बोधन गर्ने क्रममा उनको यस्तो भनाइ आएको हो । कोरोना महामारीको यस कठिन घडीमा खोप वितरणका विषयमा विश्व समुदायको नैतिक परीक्षा भएको बताउँदै यसको समान वितरणको सुनिश्चितता हुनुपर्नेमा उनको जोड छ ।
गुटरेसले अझै १३० देश कोरोना खोपको पहुँचबाट बाहिर रहेको जानकारी समेत दिए । आपतकालीन खोप अभियान योजनाबद्ध ढंगले मिलेर सञ्चालन गर्न आवश्यक रहेको उनको भनाइ छ।
प्रतिक्रिया