विदेश

राष्ट्रपति बाइडेनद्वारा म्यानमारको सैनिक नेताविरुद्ध प्रतिबन्धको घोषणा

हिमालय टिभी
२०७७ माघ २९ गते ७:३८
राष्ट्रपति बाइडेनद्वारा म्यानमारको सैनिक नेताविरुद्ध प्रतिबन्धको घोषणा

२९ माघ २०७७ वाशिङ्गटन डिसी । सैन्य कूविरुद्ध अमेरिकाले म्यानमारका सैनिक नेताविरुद्ध प्रतिबन्धको घोषणा गरेको छ ।

राष्ट्रपति जो बाइडेनले कू गर्ने म्यानमारका सैनिक नेताहरूमाथि प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन् । राष्ट्रपति बाइडेनले म्यानमारविरुद्ध निर्यातमा पनि कडा नियन्त्रण लागू गरिने र आवश्यक परेका खण्डमा अन्य थप प्रतिबन्ध पनि लगाइने चेतावनी दिएका छन् ।

प्रतिबन्ध सैनिक नेताहरू, उनीहरूका परिवारका सदस्य र सेनासँग सम्बद्ध व्यापार व्यवसायप्रति लक्षित हुनेछ । कूविरुद्ध प्रदर्शनका क्रममा गोली लागेर एक जना महिला घाइते भए लगत्तै अमेरिकाको पछिल्लो निर्णय आएको हो ।

म्यानमारका फेब्रुअरी १ तारिखमा सेनाले राष्ट्रपति लगायत सत्तारुढ दलका शीर्ष नेताहरुलाई नियन्त्रणमा लिएर शासन सत्ता कब्जा गरेको घोषणा गरेयता त्यसको विरोधमा प्रदर्शन चर्कंदै गएको छ ।

त्यहाँ इन्टरनेट सेवा बन्द गरिएको छ । यसका साथै ठूला जमघटहरू गर्न नपाइने नियम तथा रात्रिकालीन कर्फ्युको अवज्ञा गर्दै मानिसहरूले विरोध प्रदर्शन जारी राखेका छन् ।

यसअघि अमेरिकाले सेनालाई आफ्नो कदम फिर्ता लिन र सू की सहित जननिर्वाचित नेताहरूलाई रिहा गर्न माग गरेको थियो ।

त्यस्तै अमेरिकामा रहेको एक अर्ब डलर बराबरको सरकारी कोषमा सेनाको पहुँच रोक्ने अमेरिकी तयारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *