यूरोपका विभिन्न देशमा कोरोना खोप अभियान स्थगित

११ माघ २०७७ काठमाडौं । यूरोपका विभिन्न देशमा कोरोना खोप अभियान स्थगित भएको छ ।
खोप अभावमा खोप कार्यक्रम प्रभावित भएको हो । यूरोपमा फाइजर र बायोएनटेकले सहमतिअनुसार खोपको आपूर्ति गर्न नसकेको बताइएको छ ।
बेलायती कम्पनी एष्ट्राजेनिकाले उत्पादनमा देखिएको समस्याका कारण अनुमान गरिएभन्दा कम मात्रामा खोप उत्पादन हुने जनाएको छ ।
एष्ट्राजेनिकाले अक्सफोर्डसँगको सहकार्यमा विकास गरेको खोपलाई अहिलेसम्म ईयूको नियामक निकायले स्वीकृती दिइसकेको छैन । संक्रमित संख्या बढ्दै गइरहेको अवस्थामा अस्थायी रूपमा खोपको आपूर्ति कम हुँदा जर्मनीको सबैभन्दा धेरै जनसंख्या भएको राज्य र इटालीका अधिकांश क्षेत्रमा खोपको पहिलो मात्रा दिने काम नै रोकिएको छ।
मड्रिडमा स्वास्थ्यकर्मीलाई समेत खोप दिन बन्द गरिएको छ । गत साता फाइजरले अबको केही साता खोपको आपूर्ति केही ढिलो हुने जनाएको थियो । ईयूले फाइजरबाट खोप ६० करोड मात्रा मगाएको थियो ।
त्यस्तै इटली र पोल्याण्डले उत्पादन घटाएकोमा दुःख व्यक्त गर्दै यसको कानूनी उपचार खोज्ने बताएका छन् । उता युरोपेली आयोगले पनि स्वीकृत खोपको आपूर्तिमा भइरहेको ढिलाइका विषयमा फाइजरसँग स्पष्टीकरण सोध्ने बताएको छ ।
प्रतिक्रिया