विदेश

कार्यकालको पहिलो दिन राष्ट्रपति बाइडेनद्वारा विभिन्न कार्यकारी आदेश जारी

हिमालय टिभी
२०७७ माघ ८ गते ७:४०
कार्यकालको पहिलो दिन राष्ट्रपति बाइडेनद्वारा विभिन्न कार्यकारी आदेश जारी

८ माघ २०७७ वाशिङ्गटन डिसी । कार्यकालको पहिलो दिन अमेरिकी राष्ट्रपति जो बाइडनले कैयन् कार्यकारी आदेश जारी गर्दै आफ्नो प्रशासनको प्राथमिकता प्रस्ट पार्ने कोशिस गरेका छन्।

कार्यभार सम्हालेको केही घण्टाभित्रै उनले जारी गरेका कार्यकारी आदेशले कतिपय ट्रम्प प्रशासनको नीति उल्ट्याइदिएको छ। कोरोना महामारीको सङ्कटसँग जुझ्ने क्रममा आफूसँग खेर फाल्ने समय नरहेको बाइडेनले बताएका छन् ।

विगतमा ट्रम्प प्रशासनले जलवायु परिवर्तन, आप्रवासन तथा जातीय सम्बन्धबारे अख्तियार गरेका नीति उल्ट्याइएको छ । कार्यकारी आदेश जारी गरिएको वक्तव्यमा भनिएको छ– ती आदेशहरूमार्फत् राष्ट्रपति बाइडेनले ट्रम्प प्रशासनले पुर्‍याएको क्षति उल्ट्याउने मात्र नभइ देशलाई अघि बढाउने छन्।

योसँगै अमेरिका विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)मा पुन सामेल हुनेछ । भाइरस विज्ञ डा एन्थोनी फाउचीले यसै साता हुने डब्लुएचओको अन्तर्राष्ट्रिय कार्यकारी समितिको बैठकमा अमेरिकाको प्रतिनिधित्व गर्दै भाग लिने तय भएको छ ।

आगामी १०० दिनसम्म मास्क लगाइरहन मानिसहरूलाई आग्रह गर्नेगरी १०० दिने मास्क चुनौती अभियान थालनी गरिएको छ । सन् २०१५ मा हस्ताक्षर गरिएको पेरिस जलवायु सम्झौतामा अमेरिका पुनः सामेल हुने आदेश पनि जारी भएको छ ।

ट्रम्पले लागू गरेको मुस्लिम प्रतिबन्ध अन्तर्गत केही मुस्लिम बहुल देशबाट यात्रामा लगाइएको प्रतिबन्ध फुकुवा गरिएको छ । बाइडेनले मेक्सिकोसँगको सिमानामा पर्खाल निर्माण कार्य बन्द गर्ने निर्णय समेत गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *