विदेश

बाइडेनले आज अमेरिकाको ४६औं राष्ट्रपतिका रुपमा सपथ ग्रहण गर्दै

हिमालय टिभी
२०७७ माघ ७ गते ९:३५
बाइडेनले आज अमेरिकाको ४६औं राष्ट्रपतिका रुपमा सपथ ग्रहण गर्दै

७ माघ २०७७ वाशिङ्गटन डिसी । जो बाइडेनले अमेरिकी राष्ट्रपतिको रुपमा आज सपथ ग्रहण गर्दैछन् ।

अमेरिकाको ४६ औं राष्ट्रपतिको रुपमा बाइडेनले र उपराष्ट्रपतिमा कमला ह्यारिसले शपथ लिन लागेका हुन् । ७८ वर्षीय बाइडेनले मात्र ३५ शब्दको शपथ लिने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

गत नोभेम्बर ३ तारिखमा सम्पन्न चुनावमा बाइडेनले ३ सय ६ इलेक्टोरल कलेज मत पाउँदा राष्ट्रपति डोनाल्ड ट्रम्पले २ सय ३२ इलेक्टोरल कलेज मत ल्याएका थिए । यसपटक कोरोना संक्रमणको महामारीका कारण शपथ ग्रहण समारोह अघिल्ला वर्षमा जस्तो भव्य नहुने भएको छ ।

त्यस्तै समारोहमा स्वास्थ्य सुरक्षाको मापदण्डसहित एक हजारदेखि १२ सय जनासम्म मात्रै सहभागी हुने बताइएको छ । यसका साथै राष्ट्रपतिको शपथ ग्रहण समारोहमा अमेरिकाले पहिलोपटक खतरा महसुस गरेको छ ।

यहि जनवरी ६ तारिखमा राष्ट्रपति ट्रम्पका समर्थकले संसद भवनमा आक्रमण गरेपछि समारोहको सुरक्षा व्यवस्था उच्च गरिएको छ । उक्त आक्रमणको घटनामा एक प्रहरीसहित ५ जनाको मृत्यु भएको थियो । आज राजधानी वासिङ्गटन डिसीका अधिकांश स्थान बन्द हुनेछन् ।

अमेरिकी गुप्तचर निकायले सुरक्षाको नेतृत्व गरेको र प्रहरीलाई सहयोग गर्न नेशनल गार्डका झण्डै १५ हजार सुरक्षाकर्मीसहित २० हजार भन्दा बढी सुरक्षाकर्मी खटाइने छ ।

यस्तै ह्वाइट हाउस छाड्ने राष्ट्रपतिले आफ्ना उत्तराधिकारीको शपथ ग्रहण समारोह हेर्ने परम्परा भएपनि राष्ट्रपति ट्रम्प उक्त समारोहमा सहभागि नहुने अमेरिकी सञ्चार माध्यमले जनाएका छन् ।

शपथ ग्रहणका लागि बाइडेन मंगलबार नै राजधानी वासिङ्गटन पुगिसकेका छन् । शपथ ग्रहण समारोह नेपाली समयअनुसार राति १० बजेर १५ मिनेटमा शुरू हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *