विदेश

अमेरिकाको राजधानीसहित सबै राज्यमा सुरक्षा व्यवस्था कडा

हिमालय टिभी
२०७७ माघ ४ गते ७:४०
अमेरिकाको राजधानीसहित सबै राज्यमा सुरक्षा व्यवस्था कडा

४ माघ २०७७ वाशिङ्गटन डिसी । अमेरिकामा राजधानी वासिङ्गटन डिसीस्थित सबै ५० राज्यको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको शपथ ग्रहण समारोह हुने दिन नजिकिँदै गर्दा सम्भावित हिंसात्मक झडप हुन सक्ने भन्दै सबै राज्यमा उच्च सतर्कता अपनाइएको हो ।

बाइडेनले यही जनवरी २० तारिखमा राष्ट्रपतिको शपथ लिँदैछन् । यही जनवरी ६ तारिखमा अमेरिकी संसद् भवनमा भएजस्तो हिंसा हुन सक्ने भन्दै देशभरबाट नेशनल गार्डका टुकडी ह्वाइट हाउसमा पठाइएको छ ।

अमेरिकी गुप्तचर निकाय (एफबीआई)ले सबै राज्यका राजधानीमा राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले हिंसात्मक आक्रमण गर्न सक्ने चेतावनी दिएको छ। डीसीस्थित नेशनल मल बन्द गरिएको छ भने कडा सुरक्षा सतर्कतासहित सडकमा बार लगाइएको छ ।

बाइडेन प्रशासनले कोरोना महामारी भएकाले राजधानी भ्रमण नगर्न अनुरोध गरिसकेको छ । त्यस्तै स्थानीय अधिकारीले नागरिकलाई घरबाटै शपथ समारोह हेर्न अपिल गरेका छन् ।

ट्रम्पका समर्थकले आज सशस्त्र आन्दोलन गर्ने चेतावनी दिनुका साथै राजधानी डिसीमा विरोध जुलुस निकाल्ने घोषणा गरेका छन् । सम्भावित विरोध प्रदर्शनका कारण मेरिल्याण्ड, न्यूमेक्सिको र युटाका गभर्नरले संकटकाल घोषणा गरेका छन् ।

उता क्लालिफोर्निया, पेन्सलभेनिया, मिसिगन, भर्जिनिया, वासिङ्गटन र बिस्कान्सिन राज्यले आफ्ना नेशनल गार्डलाई सक्रिय बनाएका छन् ।

गत जनवरी ६ मा डेमोक्रेटिक पार्टीका नेता तथा नवनिर्वाचित राष्ट्रपति बाइडेनको जितलाई आधिकारिकता प्रदान गर्ने विषयमा संसदमा छलफल भइरहेका बेला ट्रम्पका समर्थक हतियारसहित संसद भवन प्रवेश गरेका थिए । त्यसपछि भएको झडपमा परी एक प्रहरीसहित ५ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *