विदेश

भारतमा आजदेखि कोरोना भाइरसविरुद्ध खोप अभियान शुरू हुँदै

हिमालय टिभी
२०७७ माघ ३ गते ८:१७
भारतमा आजदेखि कोरोना भाइरसविरुद्ध खोप अभियान शुरू हुँदै

३ माघ २०७७ नयाँ दिल्ली । भारतमा आजदेखि कोरोना भाइरसविरुद्ध खोप अभियान शुरू हुँदैछ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले खोप लगाएर अभियानको उद्घाटन गर्ने भएका हुन् । यस अवसरमा प्रधानमन्त्री मोदीले भिडियो कन्फरेन्समार्फत खोप लगाएका स्वास्थ्यकर्मीसँग कुराकानी समेत गर्नेछन् ।

भारतीय समय अनुसार बिहान साढे दश बजे अभियानको थालनी हुनेछ । खोप अभियानका लागि भारतभर ३ हजार ६ वटा खोप केन्द्रको स्थापना गरिएको छ । त्यस्तै सात सय जिल्लामा करिब एक लाख ५० हजार तालिम प्राप्त कर्मचारी परिचालन गरिएको छ ।

पहिलो दिन आज झण्डै ३ लाख स्वास्थ्यकर्मीले खोप लगाउने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पहिलो चरणमा करिब ३ करोड स्वास्थ्यकर्मी तथा अग्रपंक्तिमा खटिएका कर्मचारीमा खोप लगाइनेछ ।

यसका साथै संक्रमणको जोखिममा रहेका र ५० वर्षभन्दा माथि उमेरका २७ करोड नागरिकलाई खोप लगाइने भारतले जनाएको छ। यस अभियानअन्तर्गत पहिलो प्राथमिकतामा परेका देशभरका ३० करोड नागरिकलाई कोरोना खोप दिने सरकारी योजना छ ।

कोरोनाको खोप १८ वर्षभन्दा बढी उमेरकालाई मात्र लगाइने बताइएको छ । भारतमा कोरोना भाइरसविरुद्धको कोभिशिल्ड र कोभ्याक्सिन खोपलाई प्रयोगमा ल्याउन लागिएको हो ।

कोभिशिल्ड बेलायतको अक्सफोर्ड विश्वविद्यालय र एष्ट्रोजन कम्पनीले विकास गरेका हुन् भने कोभ्याक्सिन स्वदेशकै भारत बायोटेकले इण्डियन काउन्सिल अफ मेडिकलसँगको सहकार्यमा विकास गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *