रुसी राष्ट्रपति पुटिनले दिए नवनिर्वाचित अमेरिकी राष्ट्रपति बाइडेनलाई बधाई

Himalaya Television
२०७७ मंसिर ३० गते १७:२२

रुसी राष्ट्रपति पुटिनले दिए नवनिर्वाचित अमेरिकी राष्ट्रपति बाइडेनलाई बधाई

३० मंसिर, २०७७ मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले औपचारिक रुपमै अमेरिकी राष्ट्रपति–निर्वाचित जो बाइडेनलाई बधाई दिनु भएको छ ।

विश्वव्यापी सुरक्षालाई प्रवर्द्धन गर्नेगरी आफूहरुबीचका मतान्तरलाई थाँती राखेर दुबै देशले मिलेर कार्य गर्न आफू इच्छुक रहेको राष्ट्रपति पुटिनले बताउनु भएको छ ।

राष्ट्रपति पुटिनले अमेरिकी राष्ट्रपति–निर्वाचित बाइडेनको कार्यकाल सफल हुने विश्वास व्यक्त गर्दै आफू सहकार्य र सम्पर्क स्थापित गर्न तत्पर रहेको बताउनु भएको छ ।

राष्ट्रपतिको कार्यालय क्रेमलिनले सार्वजनिक गरेको विज्ञप्तिमा रुस र अमेरिकाको काँधमा विश्वको सुरक्षा र स्थायित्व कायम राख्न विशेष जिम्मेवारी रहेको उल्लेख छ ।

विश्वका प्रमुख नेताहरुमध्ये रुसी राष्ट्रपति अन्तिमतिर जो बाइडेनलाई बधाई दिने विश्व नेता हुनुहुन्छ । सोमबार मात्र अमेरिकी इलेक्टोरल कलेजले बाइडेनको जितलाई सुनिश्चित गर्नेगरी औपचारिक रुपमा मतदान गरेको थियो ।

तर अमेरिकी राष्ट्रपति–निर्वाचित बाइडेनले रुसविरुद्ध राष्ट्रपति डोनाल्ड ट्रम्पको भन्दा पनि कडा नीति अख्तियार गर्ने अनुमान गरिएको छ । चुनावी अभियानका क्रममा बाइडेनले पुटिनसमेतका विश्वका धेरै तानाशाहलाई ट्रम्पले समर्थन र साथ दिएको बताउँदै आउनु भएको थियो ।

सन् २०१६ को अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रुसले हस्तक्षेप गरेको आरोप छ जसले ट्रम्पलाई विजयी हुन मद्दत गरेको थियो ।

यसैबीच, अमेरिकी इलेक्टोरल कलेजको मतदानबाट राष्ट्रपति–निर्वाचित जो बाइडेन विजयी हुनु भएको छ । बाइडेनले ३०६ तथा राष्ट्रपति ट्रम्पले २३२ मत प्राप्त गर्नु भएको छ ।

यो मतदानसँगै अमेरिकी राष्ट्रपतिमा जो बाइडेनको जित सुनिश्चित भएको छ । इलेक्टोरल मतबाट निर्वाचित भएसँगै बाइडेनले राष्ट्रपति ट्रम्पले अमेरिकी जनताको अभिमतलाई उपेक्षा गरेकामा आपत्ति जनाउनु भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Latest Programs