आज किसानको आव्हानमा भारत बन्द

२३ मंसिर, २०७७ नयाँ दिल्ली । भारतमा आज किसानले भारत बन्दको आव्हान गरेका छन् ।
केन्द्र सरकारको नयाँ कृषि कानूनको विरुद्धमा किसानले आज भारत बन्दको घोषणा गरेका हुन् । केन्द्र सरकारले ल्याएको नयाँ कृषि कानूनबारे भारतमा किसान र सरकारबीच कैयन् चरणको वार्ता भएपनि निष्कर्ष निस्कन सकेको छैन ।
सरकार र किसानबीच भोलि पुनः वार्ताको मिति तय भएको छ । किसान आन्दोलनमा त्यहाँको कैयन् राजनीतिक दल लगायत ट्रेड युनियनले पनि समर्थन जनाएका छन् ।
आन्दोलनरत किसान संगठनले बन्द देशका हरेक स्थानमा सफल हुने दाबी गरेका छन् । बन्द बिहानदेखि साँझसम्म हुने भएपनि चक्काजाम भने दिउँसो ३ बजेसम्म मात्र हुने बताइएको छ ।
मोदी सरकारको कृषि कानूनको विरोधमा भारतमा जारी किसान आन्दोलन आज १३औं दिनमा प्रवेश गरेको छ । पञ्जाब तथा हरियाणाका किसान राजधानी दिल्ली जाने अभियान अन्तर्गत दिल्लीको सीमा क्षेत्र लगायत विभिन्न राज्यमा लगातार प्रदर्शन गरिरहेका छन् ।
उता केन्द्र सरकारले किसानसँग यस्ता बन्दको आव्हान नगर्न र बालबालिका र वृद्धवृद्धालाई प्रदर्शनस्थलबाट घर पठाउन आग्रह गरेको छ ।
प्रतिक्रिया