कोरोनाविरुद्धको खोप प्रयोगका लागि अमेरिकी कम्पनी मोडेर्नाले माग्यो अनुमति

१६ मंसिर, २०७७ न्युयोर्क । अमेरिकी औषधि कम्पनी मोडेर्नाले अमेरिका र युरोपमा खोपको प्रयोगका लागि अनुमति मागेको छ ।
कोरोना भाइरसविरुद्धको खोप विकास गरी अन्तिम चरणको परीक्षण गरिरहेको मोडेर्नाले अमेरिका र युरोपमा खोपको प्रयोगका लागि अनुमति मागेको हो ।
मोडेर्नाले आफूले विकसित गरेको खोपको क्लिनिकल परीक्षण ९४ दशमलव १ प्रतिशत प्रभावकारी रहेको भन्दै प्रयोगका लागि अनुमति माग गरेको हो ।
मोडेर्नाले सोमबार नै अमेरिकी खाद्यान्न तथा औषधि प्रशासनसँग संकटकालीन प्रयोगका लागि स्वीकृति माग्ने र यसलाई यूरोपेली औषधि उत्पादक तथा वितरक कम्पनीसँग मिलेर सशर्त बजारीकरणका लागि अनुमति लिने बताएको थियो ।
गत वर्षको डिसेम्बर महिनाको अन्तिममा चीनको वुहान शहरमा पहिलो पटक पत्ता लागेको कोरोना भाइरसले विश्वभर नै महामारीको रूप लिइसकेको छ ।
कोरोनाबाट अमेरिका, ब्राजिल, पेरु, चिली र इटाली, स्पेन, बेलायत, फ्रान्स, जर्मनी, रुसलगायतका यूरोपेली देश कोरोनाका कारण बढी प्रभावित छन् ।
त्यस्तै दक्षिण एसियामा भारत, पाकिस्तान, बंगलादेश बढी प्रभावित देश हुन् । विश्वमा कोरोनाबाट सबैभन्दा बढी संक्रमित र मृत्यु हुने देश अमेरिका हो । अमेरिकामा करिब एक करोड ४० लाख संक्रमित हुँदा मृत्यु हुनेको संख्या दुई लाख ७४ हजार नाघेको छ ।
प्रतिक्रिया