अमेरिकामा डिसेम्बर दोस्रो सातादेखि कोरोनाको खोप उपलव्ध हुने

८ मंसिर, २०७७ न्युयोर्क । अमेरिकामा आगामी डिसेम्बर ११ तारिखपछि कोरोनाविरुद्धको खोप उपलब्ध हुन सक्ने बताइएको छ ।
अमेरिकी कोरोना भाइरस खोप कार्यक्रमका प्रमुखले डिसेम्बर ११ पछि अमेरिकामा पहिलो पटक कोभिड(नाइन्टिनको खोप पाउन सक्ने बताएका हुन्।
डाक्टर मोन्सेफ स्लावीले अमेरिकी सञ्चारमाध्यम सीएनएनसँगको कुराकानीमा स्वीकृति पाएको २४ घन्टाभित्र खोप पुर्याइने योजना रहेको बताए । अमेरिकाभर कोरोना भाइरसको संक्रमण बढिरहेका बेला उनको यस्तो भनाइ आएको हो ।
अमेरिकी कम्पनी फाइजर र उसको सहायक कम्पनी बायो एन टेकले अमेरिकामा आफ्नो खोपलाई आकस्मिक अनुमति दिन आवेदन दिएका छन् । अमेरिकाको खाद्य तथा औषधि प्रशासन (एफडीए) को खोपसम्बन्धी परामर्श समितिले खोपलाई अनुमति दिनेबारे डिसेम्बर १० तारिखमा छलफल गर्ने निधो गरेको छ।
फाइजरले यस वर्षको अन्त्यसम्ममा पाँच करोड डोज खोप उत्पादन गर्ने आशा गरेको छ । संक्रमितमा दुई पटक लगाइनुपर्ने खोपको परीक्षण ९५ प्रतिशत प्रभावकारी देखिएको छ।
अमेरिकामा अहिलेसम्म कोरोना संक्रमित हुनेको संख्या एक करोड २५ लाखभन्दा धेरै रहेको छ ।
त्यस्तै त्यहाँ मृत्यु हुने मानिसको संख्या झण्डै दुई लाख ६२ हजार पुगेको छ। अमेरिकामा पछिल्लो २४ घण्टामा मात्रै करीब १ लाख ३७ हजार जनामा संक्रमण पुष्टि हुँदा झण्डै ९ सय जनाले ज्यान गुमाएका छन् ।
प्रतिक्रिया