जर्जियामा गरिएको पुनः मतगणनामा पनि बाइडेन नै विजयी
६ मंसिर, २०७७ न्युयोर्क । जर्जिया राज्यमा नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेन नै विजयी भएको औपचारिक घोषणा गरिएको छ ।
परम्परागत रुपमा रिपब्लिकनको पकड रहँदै आएको जर्जियामा राष्ट्रपतिमा निर्वाचित डेमोक्र्याटिक उम्मेदवार बाइडेनको जितले औपचारिकता पाएको हो ।
राज्यका रिपब्लिकन सेक्रेटरी अफ स्टेट ब्राड राफेनस्परर्गले दोहोर्याएर गरिएको मतगणनापछि पनि बाइडेन नै विजयी भएको घोषणा गरे । १६ इलेक्टोरल कलेज मत रहेको जर्जियामा बाइडेनले ट्रम्पलाई १२ हजार ६ सय ७० मतले हराएका हुन् ।
राज्यको कानून अनुसार गरिएको अडिटपछि बाइडेनको जित निश्चित भएको हो । नोभेम्बर ३ मा सम्पन्न राष्ट्रपति निर्वाचनमा बाइडेनले ३ सय ६ इलेक्टोरल कलेज मत जितेका छन् ।
बाइडेनले आगामी जनवरी २० मा अमेरिकाको ४६ औं राष्ट्रपतिका रुपमा सत्ता सम्हाल्ने तयारी गरेका छन् । बाइडेन विजयी भए पनि राष्ट्रपति डोनाल्ड ट्रम्पले हार स्वीकार गरेका छैनन् ।
उनका सहयोगीहरुले तीन राज्यमा चुनावको नतिजालाई चुनौति दिंदै दायर गरेका मुद्दा खारेज भएका बेला जर्जियाको नतिजा औपचारिक रुपमा बाइडेनतर्फ गएको हो ।
प्रतिक्रिया