विदेश

कोरोनाविरुद्धको खोपले ९५ प्रतिशत काम गरेको अमेरिकी कम्पनीको दाबी

हिमालय टिभी
२०७७ मंसिर २ गते ७:२७
कोरोनाविरुद्धको खोपले ९५ प्रतिशत काम गरेको अमेरिकी कम्पनीको दाबी

२ मंसिर, २०७७ न्युयोर्क । कोरोना भाइरसविरुद्ध खोप अध्ययन गरिरहेको एक अमेरिकी कम्पनीले विकास गरेको खोपको प्रभावकारिता झण्डै ९५ प्रतिशत देखिएको छ।

नयाँ खोपले कोभिड–नाइन्टिनबाट झण्डै ९५ प्रतिशत सुरक्षा दिने प्रारम्भिक तथ्या‌ंकबाट देखिएको खोप उत्पादक कम्पनी मोडेर्नाले जनाएको हो ।

यसअघि फाइजर कम्पनीद्वारा विकसित खोपका नतिजाहरू सार्वजनिक भएलगत्तै आएको पछिल्लो परिणामबाट खोपहरूले कोरोना महामारी अन्त्य गराउन सघाउने कुरामा आत्मविश्वास बढेको छ।

फाइजरले बनाएको खोपको प्रभावकारिता ९० प्रतिशत देखिएको रिपोर्ट गत हप्ता सार्वजनिक भएको थियो । दुबै कम्पनीले कोरोनाभाइरसविरुद्ध खोपहरूको विकासमा एकदमै नवीन खालको प्रयोग गरेको बताएका छन् ।

खोप प्रभावकारी उत्साहजनक र आशादायी रहेको बताउँदै मोडेर्नाले प्रयोगका लागि अनुमति प्राप्त गर्ने प्रक्रिया अबको केही हप्तामै शुरु गर्ने उल्लेख गरेको छ। अमेरिका भएको परिक्षणमा सहभागी ३० हजार मानिसमध्ये आधालाई खोपको दुई डोज चार हप्ताको फरकमा दिइएको थियो ।

अन्य आधालाई डमी खोप दिइएको थियो । त्यस्तै संक्रमण देखिएका मध्ये पाँच जना खोप र बाँकी ९० जना डमी खोप दिइएका मानिस रहेको मोडेर्नाले जनाएको छ।

यसरी तथ्या‌ंक अनुसार खोपले ९४ दशमलव ५ प्रतिशत मानिसलाई संक्रमणबाट रोकेको पाइएको थियो । यस खोपको भण्डारण यसअघि आएको फाइजरको खोपभन्दा सहज हुने समेत जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *