राष्ट्रपति ट्रम्पको समर्थनमा राजधानी वासिङ्गटन डिसीमा प्रदर्शन
३० कात्तिक, २०७७ वासिङ्गटन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थनमा राजधानी वासिङ्गटन डिसीमा प्रदर्शन भएको छ ।
राष्ट्रपति निर्वाचनमा पराजित भएपछि चुनावमा धाँधलीको आरोप लगाउँदै आएका राष्ट्रपति ट्रम्पको समर्थनमा उनका हजारौं समर्थकले प्रदर्शन गरेका हुन् ।
डिसीमा ट्रम्पका समर्थक चुनावमा धाँधली भएको भन्ने राष्ट्रपति ट्रम्पको बिना प्रमाणित आरोपको पक्षमा सडकमा ओर्लिएका हुन् । झण्डासहित आएका प्रदर्शनकारीहरुमा दक्षिणपन्थी समूह प्राउड बोइजसहितको सहभागिता थियो । केही प्रदर्शनकारीले हेलमेट तथा बुलेट प्रूफ भेस्टसमेत लगाएका थिए ।
उता गल्फ कोर्स जानका लागि निस्किएका ट्रम्पको सवारी पनि समर्थकहरुले केहीबेर घेरेका थिए । प्रदर्शनकारीहरुले मेक अमेरिका ग्रेट अगेन लगायत चोरी रोक्नुपर्ने आशयका प्लेकार्ड तथा ब्यानर बोकेका थिए ।
यही नोभेम्बर ३ मा सम्पन्न राष्ट्रपति चुनावमा डेमोक्रेटिक उम्मेदवार जो बाइडेन विजयी भएका छन्। उनले ५ सय ३८ मध्ये ३ सय ६ इलेक्टोरल कलेज मत पाएका हुन् ।
बाइडेन परम्परागत रुपमा रिपब्लिकनहरुको पकड रहँदै आएका जर्जिया र एरिजोनासहितका राज्यमा पनि जित हासिल गर्न सफल भएका छन् । यस पटक २ सय ३२ इलेक्टोरल कलेज मत पाएका वर्तमान राष्ट्रपति ट्रम्पले चार वर्ष पहिले त्यति नै मत पाएर विजयी भएका थिए ।
हार स्वीकार नगरेका ट्रम्पले अझै जित्ने दाबी सहितका ट्विट गर्दै आएका छन् । राष्ट्रपति औपचारिक मतपरिणाम भने डिसेम्बर १४ मा घोषित हुनेछ ।
प्रतिक्रिया