कोरोना संक्रमणबाट विश्वमा एकैदिन १० हजार बढीको मृत्यु
२७ कात्तिक, २०७७ काठमाडौं । कोरोना संक्रमणबाट पछिल्लो पटक विश्वमा हालसम्मकै धेरै मानिसको मृत्यु भएको छ ।
बितेको २४ घण्टामा विश्वभर संक्रमणका कारण हालसम्मकै धेरै १० हजार १ सय ८० जनाको मृत्यु भएको हो ।
यसअघि नोभेम्बर ६ तारिखमा एकैदिन ९ हजार २ सय ३९ जनाले ज्यान गुमाएका थिए । सबैभन्दा बढी अमेरिकामा १ हजार ४ सय ७८ जनाको मृत्यु हुँदा १ लाख ४२ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।
अमेरिकामा अहिलेसम्म १ करोड ७ लाख भन्दा बढी संक्रमित हुँदा २ लाख ४७ हजार भन्दा बढीको मृत्यु भैसकेको छ । अमेरिकापछि इटालीमा ६ सय २३, मेक्सिकोमा ६ सय १७, बेलायतमा ५ सय ९५, ब्राजिलमा ५ सय ६४ तथा भारतमा ५ सय ५० जनाको मृत्यु भएको छ ।
विश्वमा कोरोनाबाट हालसम्म झण्डै १२ लाख ९० हजार जनाको मृत्यु हुँदा संक्रमित हुनेको संख्या ५ करोड २४ लाख २९ हजार नाघेको छ । त्यस्तै संक्रमणमुक्त हुने ३ करोड ६६ लाख ७३ हजार भन्दा बढी पुगेका छन् ।
प्रतिक्रिया